चुनावी भीडमा ओझेलिएका भुइँमान्छे : आश्वासन धेरै, जीवन उस्तै

माघ ५, २०८२ |कृपाल गौतम
चुनावी भीडमा ओझेलिएका भुइँमान्छे : आश्वासन धेरै, जीवन उस्तै

काठमाडौं । देशमा चुनाव लागिसकेको छ । 

राजनीतिक दलहरूले उम्मेदवारको नाम करिब टुङ्गो लगाइसकेका छन् । कतिले त चुनावी अभियान नै सुरू गरिसकेका छन् । तर समाजमा केही यस्तो वर्ग छ, जसलाई मुलुकमा जेसुकै भए पनि बिहान-बेलुकी हातमुख जोर्न संघर्ष नगरी सुख छैन । चुनावका बेला अनेक आशा देखाउँदै नेताहरू भोट माग्न आए । तिनीहरूलाई जिताएर पठाए । तर उनीहरूको जीवनमा कुनै परिवर्तन आएन । अब त चुनाव आउँदा पनि उनीहरूले नेताहरूबाट आशै गर्न छाडेका छन् ।

३ वर्षअघि जुम्लाबाट काठमाडौं छिर्नुभएकी सीता रावत डोकामा तरकारी बेच्नुहुन्छ । यही व्यवसाय गरेर छोराछोरीको शिक्षादिक्षा लगायत दैनिक खर्चको जोहो गर्नुपर्ने जिम्मेवारी उहाँमा छ । यति पनि व्यापार नगरेको दिन के खाने हो थाहा छैन । समस्या परेको दिन कसैले वास्ता गर्दैन । तर जब चुनाव आउँछ, नेताहरू भाडासमेत तिरिदिएर जुम्ला लैजान तयार हुन्छन । तर चुनाव सकिएपछि फेरि उही दिनचर्या ।

चिरञ्जीवी पहारी कोटेश्वरमा ठेलामा जुत्ता चप्पल बेच्नुहुन्छ । ३० वर्षअघि २० वर्षको उमेरमा काठमाडौं आउनुभएका उहाँले सुरूका १५ वर्ष सेक्युरिटीको काम गर्नुभयो । पछि जीवन अलि सहज बनाउन जुत्ता चप्पलको व्यापार थाल्नुभयो । कमाएरै छोरालाइ क्यानडा र श्रीमतीलाई साइप्रस पठाउनुभएको छ । 

दुवै जनाले पैसा पठाउने गरे पनि व्यवसाय सानो नहुने भन्दै उहाँले गरिरहेको काम छाड्नु भएको छैन । अहिले सबैतिर चुनावी माहोल छ । तर उहाँलाई यी सब कुरासँग भन्दा आफ्नो व्यवसाय कसरी अगाडि बढाउने भन्ने चिन्ता छ । किनभने उहाँको बुझाइमा भुइँमान्छेका लागि नेताहरुले केही गर्दैनन् ।

अहिले पनि दलका नेताहरु घर-घर पुगेर प्रचार प्रसार गरिरहेका छन्, विकास र परिवर्तनको आश्वासन दिइरहेका छन् । तर जितिसकेपछि निर्वाचन क्षेत्रमा नफर्कने परिपाटीले नागरिकमा चुनावप्रति नै निराशा छाउँछ । अब नेताले आफूले सक्ने र गर्ने कुराको प्रतिबद्धतामात्र जनतासँग गर्नुपर्छ । अब नागरिकलाई भोट बैंक मात्र सम्झने गल्ती दल तथा नेताहरूले कदापि गर्नु हुँदैन ।


Image

कृपाल गौतम

गौतम कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।