
काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले कांग्रेसमा हाल देखिएको विवाद कुनै विवादको विषयवस्तु नै नभएको टिप्पणी गर्नुभएको छ ।
आधिकारिकतासम्बन्धी जानकारी दिनका लागि शुक्रबार निर्वाचन आयोगमा पुग्नुभएकी उहाँले कांग्रेसमा विवादको भन्दा विधानको विषयवस्तु महत्वपूर्ण भएको बताउनुभएको हो । उहाँले विधानको प्रक्रियालाई नै अनुसरण गरेर विशेष महाधिवेशन गरिएको दाबी गर्नुभयो ।
उहाँले कांग्रेसको विधानले महाधिवेशन प्रतिनिधिलाई शक्तिशाली बनाएको उल्लेख गर्नुहुँदै महाधिवेशन प्रतिनिधिले केन्द्रीय समिति विघटन गर्न पाउने बताउनु भयो । उहाँले आयोगलाई नेपाली कांग्रेसको विशेष महाधिवेशन प्रक्रियाअनुसार भएको छ कि छैन भनेर हेर्न मात्रै आग्रह गर्नुभयो ।
उहाँले महाधिवेशन प्रतिनिधि भन्दामाथि नेतृत्व, कार्यसम्पादन समिति, केन्द्रीय कार्यसमिति वा महासमिति कोही पनि नहुने बताउनु भयो ।