जाजरकोटमा मुख्य निर्वाचन अधिकृतको कार्यालय उद्घाटन

माघ २, २०८२ |सरोज वली
जाजरकोटमा मुख्य निर्वाचन अधिकृतको कार्यालय उद्घाटन

जाजरकोट । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि जाजरकोटमा मुख्य निर्वाचन अधिकृतको कार्यालय उद्घाटन गरिएको छ । 

जिल्ला सदरमुकाम खलंगामा शुक्रबार आयोजित कार्यक्रममा मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश दुर्गाप्रसाद खनालले कार्यालयको उद्घाटन गर्नुभएको हो । उद्घाटन कार्यक्रममा बोल्दै मुख्य निर्वाचन अधिकृत खनालले निर्वाचनलाई निष्पक्ष, स्वच्छ र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सबै सरोकारवाला निकाय, राजनीतिक दल, उम्मेदवार तथा आम नागरिकबाट सहयोगको अपेक्षा गर्नुभयो । 

उहाँले कानुनको पालना गर्दै निर्वाचन प्रक्रियालाई सफल बनाउन कार्यालय प्रतिबद्ध रहेको समेत बताउनुभयो । कार्यालय उद्घाटनसँगै जाजरकोटमा प्रतिनिधि सभा सदस्य निर्वाचनसम्बन्धी सम्पूर्ण प्रशासनिक तथा व्यवस्थापन कार्य औपचारिक रूपमा सुरु भएको छ ।


Image

सरोज वली

वली कान्तिपुर टेलिभिजनका जाजरकोट प्रतिनिधि हुन् ।