
पाँचथर । किराँत समुदायका लिम्बु राई, याक्खा र सुनुवार समुदायले आज नयाँ वर्ष मनाउँदै छन् । माघे संक्रान्तीसँगै किराँती पात्रोमा संवत फेरिने भएकाले माघ १ गतेकै दिन पूर्वी नेपाल थातथलो भएर देश विदेशमा पुगेका लिम्बु समुदायले किराँत नयाँ वर्ष धुमधाम साथ मनाउछन । किराँती पात्रो अनुसार यो वर्षको माघ १ गतेदेखि किराँत सम्वत ५०८६ सुरु भएको छ ।
यो सिजनमा संक्रान्तिदेखि उच्च पहाडी क्षेत्रमा पाइने चाँप प्रजातिको फूल फूल्न सुरु हुन्छ । त्यसैले लिम्बु समुदायले माघे संक्रान्तीलाई ककफेवा तङनाम भनेर भन्ने गरिएको हो ।
लिम्बु भाषामा कक भनेको चाँप, फेवा भनेको फूल्ने र तङनाम भनेको सिजन अर्थात् ककफेवा तङनाम भनेको चाँप फूल्ने सिजन हो । यो पर्वमा घरको ज्येष्ठ सदस्य वा अभिभावकले वन तरुल पोलेर सदस्यलाई टीका लगाउदै आर्शीवाद दिने चलन छ ।
किराँत नयाँ वर्षलाई लिम्बु समुदायले कुसङ यले तङबे र राई समुदायले यले दङ भनेर मनाउदैछन ।
यस्तै याक्खा र सुनुवार समुदायका सदस्यले पनि माघ १ गते लाई नै नयाँ वर्ष शुरु भएको भन्दै पर्व मनाइरहेका हुन ।
किराँत संवत नेपालमा हाल प्रचलनमा रहेको विक्रम संवत भन्दा ३ हजार ४ वर्ष जेठो रहेको उनीहरु इतिहासका जानकारहरु बताँउछन । यले तङ्गवे सम्वत किराँती राजा यलम्बरले शासन शुरु गरेपछि मनाउन थालिएको किम्बन्ति छ ।
पाँचथर, तेह्रथुम, ताप्लेजुङ, ईलाम, झापा, धनकुटालगायतका जिल्लामा विभिन्न कार्यक्रम आयोजना गरिन्छ ।