
काठमाडौै । विशेष महाधिवेशनबाट निर्वाचित नेपाली काँग्रेसका सभापति गगन थापाले पार्टीको नयाँ केन्द्रिय कार्यसमितिको विवरण शनिवारसम्म निर्वाचन आयोगले अद्यावधिक गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।
बिहीवार विवरण अद्यावधिक गर्न निर्वाचन आयोग पुग्नुभएका उहाँले यस्तो बताउनुभएको हो । नेपाली काँग्रेसको विधानको धारा १७(२) बमोजिम गरिएको विशेष महाधिवेशनले नेतृत्व चयन गरेकोले सो को जानकारी औपचारिक रुपमा आयोगलाई गराईएको उहाँले जानकारी दिनुभयो । विशेष महाधिवेशन पार्टी विधानको धारा १५ अनुसार पार्टीको सर्वोच्च निकाय भएकाले त्यसले गरेका निर्णय सर्वोपरि हुने उहाँले बताउनु भयो ।
महाधिवेशनबाट नयाँ केन्द्रिय कार्यसमिति चयन भइसकेकाले राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ५१ अनुसार सो विवरण निर्वाचन आयोगमा अद्यावधिक गर्न निवेदन दिएको उहाँको भनाई छ । विशेष महाधिवेशनले निर्वाचित गरेको नयाँ केन्द्रिय कार्यसमितिलाई अद्यावधिक गरिदिन आवश्यक सम्पूर्ण कागजात र विवरणसहित निवेदन दिएकोले छिट्टै अद्यावधिक हुने विश्वास व्यक्त गर्नुभयो ।
माघ ६ गते हुने प्रतिनिधि सभा निर्वाचनको मनोनयन प्रक्रियालाई ध्यानमा राख्दै निर्वाचन आयोगले अत्यन्त छिटो अद्यावधिकको काम टुंग्याउनुपर्ने उहाँले आवश्यकता औंल्याउनु भयो । उहाँले यो कुनै दलभित्रको विवादसम्बन्धी विषय नभई विधिपूर्वक सम्पन्न महाधिवेशनको विवरण अद्यावधिक गर्ने सामान्य प्रशासनिक प्रक्रिया मात्र भएको दाबी गर्नुभयो । आयोगले यसलाई छिट्टो टुंगोमा पु¥याएर पार्टीभित्र र बाहिर देखिएका अन्योल र दुविधा अन्त्य गर्नुपर्ने बताउनु भयो ।
उहाँले पार्टीको विशेष महाविधेशन आधिकारिक रहेकोले आफूहरु नै आधिकारीक नेपाली काँग्रेस भएको बताउनु भयो ।