
काठमाडौैै । राजनीतिमा गगन थापाको पहिचान त्रिचन्द्र क्याम्पसमा आईएस्सी पढ्दै गर्दा नेविसंघको गतिविधिबाट सुरु भएको हो । २०५१ मा स्ववियु सदस्य निर्वाचित भएका उहाँ दुई वर्षपछि स्ववियु सभापति हुनुभएको थियो । २०५७ मा नेविसंघको उपाध्यक्ष र २०५९ मा महामन्त्री बन्नुभएको उहाँ विद्यार्थी आन्दोलनका क्रममा राजद्रोहको आरोपमा पटक–पटक पक्राउ समेत पर्नुभयो।
तत्कालीन राजा ज्ञानेन्द्र शाहले सत्ता हातमा लिएपछि त्यसविरुद्ध १ पुस २०६० मा भएको विद्यार्थी आन्दोलनमा नारा घन्काउँदा सूर्यबहादुर थापा नेतृत्वको तत्कालीन सरकारले नेविसंघका तत्कालीन अध्यक्ष गुरुराज घिमिरे, महामन्त्री थापा र अनेरास्ववियुका नेता पुरुषोत्तम आचार्यलाई राजद्रोहको आरोपमा पक्राउ गर्यो।
गगनले २०५९ देखि नै गणतन्त्रको मुद्दा बोक्नु भएको थियो । यसका लागि उहाँलाई पार्टी नेतृत्वले समेत पटक पटक तर्साएको थियो । तर २०६२ को भदौमा सम्पन्न महाधिवेशनबाट कांग्रेसले आफ्नो विधानबाट ‘संवैधानिक राजतन्त्र’ मान्ने प्रतिबद्धता फिर्ता गर्यो। त्यसपछि भएको २०६२/०६३ को जनआन्दोलनमा गगन विद्यार्थी नेताका तर्फबाट अग्रपंक्तिमा उभिनुभयो ।
जनआन्दोलनताका शान्तिवाटिकामा उहाँले ढुंगा हान्दै गरेको फोटो अहिले पनि बेला–बेला सामाजिक सञ्जालमा देखिने गरेको छ।जनआन्दोलनको सफलतापछि २०६४ मा भएको संविधानसभा निर्वाचनमा समानुपातिकतर्फबाट थापा संसदमा छिर्नुभएको हो ।
मंसिर २०७८ मा भएको १४ औं महाधिवेशनमा गगन महामन्त्रीमा निर्वाचित हुनुभएको थियो । काठमाडौंमा गएराति सम्पन्न विशेष महाधिवेशन पक्षधरहरूले सभापतिमा गगन थापासहित १३ पदाधिकारी र १ सय २१ केन्द्रीय सदस्य निर्वाचित गरेका छन्।