मकर संक्रान्ति पर्व मनाइँदै

माघ १, २०८२ |कान्तिपुर टीभी संवाददाता
मकर संक्रान्ति पर्व मनाइँदै

काठमाडौै । प्रत्येक वर्ष सौर्य मासअनुसार माघ महिनाको पहिलो दिन मनाइने माघे, मकर संक्रान्ति पर्व आज देशभर स्नान, जप, तप र दान आदि गरी मनाइँदै छ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई माघे सङ्क्रान्ति भनिन्छ ।

माघे संक्रान्तिकै अवसरमा थारु समुदायले आज धुमधामका साथ माघी पर्व मनाउँदैछन् । माघी नेपालमा बसोबास गर्ने थारू समुदायको प्रमुख चाड हो। माघीलाई थारूहरूको मौलिक संस्कृति, पहिचान र परम्पराले भरिएको सबैभन्दा ठूलो पर्वका रूपमा लिइन्छ।

किराँत समुदायका लिम्बु राई,याक्खा र सुनुवार समुदायले आज नयाँ वर्ष मनाउदैछन । माघे संक्रान्तीसँगै किराँती पात्रोमा संवत फेरिने भएकाले माघ १ गतेकै दिन पूर्वी नेपाल थातथलो भएर देश विदेशमा पुगेका लिम्बु समुदायले किराँत नयाँ वर्ष धुमधाम साथ मनाउँछन । किराँती पात्रो अनुसार आजदेखि किराँत सम्वत ५०८६ सुरु भएको छ ।

यसैगरि मगर समुदायमा आज माघे 'सकराट' मनाउने गरिन्छ भने नेवार समुदायमा माघे सङ्क्रान्ति ‘घ्यः चाकु संल्हू’ का रूपमा मनाइन्छ।

माघ १ गतेदेखि उत्तरायण शुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण शुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ । यसैले आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायतका स्थानमा माघ स्नान गर्न भक्तजनको भीड लाग्छ । यी ठाउँमा आज विशेष मेलासमेत लाग्ने गर्छ ।

माघे संक्रान्तिका दिन घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी आदि खाने चलन छ । यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा ताता परिकार खाने गरिएको हो । यी खानाले त्रिदोष नाश हुने धार्मिक विश्वास छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.