प्यूठान । उत्तरपूर्वी प्युठानका झिमरूक र गौमुखी गाउँपालिकासँगै गुल्मी र अर्घाखाँचीलाई प्यूठानसँग जोड्छ बाग्दुला, मच्छी, ठूलोबेंशी सडकले ।
लामो समयदेखिस्तरोन्नति नभएको जीर्ण सडकमा पछिल्लो समय तीनै तहका सरकारले बजेट विनियोजन गरेसँगै निर्माणको काम धमाधम भइरहेको छ । जसले यस क्षेत्रका स्थानीयमा सडक सहज बन्ने आशा पलाएको छ । झिमरूक गाउँपालिकाको केन्द्र मच्छीसँगै उत्तरपुर्वी प्यूठानको गौमुखी गाउँपालिका र छिमेकी जिल्ला गुल्मी र अर्घाखाँचीको पश्चिमी भूभागलाई प्रदेश राजधानी देउखुरीसँग जोडने एक मात्रै सडक हो बाग्दुला, मच्छीसडक ।
ट्रयाक खुलेको तीन दशक बितिसक्दा समेत २६ किलोमिटर लम्बाइको यो सडक स्तरोन्नति नहुँदा यात्रुले भागेको सास्तीको लेखाजोखा छैन् । तर गतवर्षदेखि सडक स्तरोन्नतीको काम धमाधम हुन थालेपछि भने यस क्षेत्रका स्थानीयले दशकौं देखिको दुःख भुलेका छन् । लामो समय अलपत्र सडक निर्माणमा स्थानीय सरकारदेखि प्रदेश र संघीय सरकारले चासो दिएपछि स्तरोन्नति अघि बढेको हो ।
गतवर्ष झिमरूक गाउँपालिकाले पाँच करोड लागतमा बतासेडाँडा जिमुरखोला पाँच किलोमिटर सडक स्तरोन्नति गरेको थियो । चालू आर्थिक वर्षमा सोही खण्ड कालोपत्रे गर्न गाउँपालिकाले ९ करोड १० लाखको ठेक्काआह्वान गरेको छ । बाग्दुला मच्छी १२ किलोमिटरमध्ये गाउँपालिकाले बतासेडाँडा जिमुरखोला पाँच किलोमिटर, संघीय सरकारले बाग्दुला हाडीगैरा १ किलोमिटर र प्रदेश सरकारले बाँकी खण्ड स्तरोन्नतिकालागि संघीय समपूरक योजनाअन्तर्गत ठेक्कालगाएर काम सुरू गरेका छन् ।
बाग्दुला मच्छी १२ किलोमिटर खण्डमा तीनतहका सरकारको करिब ५४ करोड रूपैयाँ बजेट विनियोजन भएको छ । भारतीय एक्जिम बैंकको ऋण सहयोगमा बन्ने भनिएको बाग्दुला, मच्छी ठुलाबेँसी भीमगिठे सडक लामो समयदेखि स्तरोन्नति हुन सकेको थिएन् । तर हालउक्त सडकमा धमाधम काम हुँदा यात्रु र सवारीचालक सडक कालोपत्रे भए यात्रा कम खर्चिलो र सहज हुने अपेक्षामा छन् ।
सोही सडकखण्ड अन्तर्गत गौमुखी गाउँपालिका क्षेत्रमा पनि चालू आर्थिक वर्षबाट सडक स्तरोन्नति सुरू भएको छ । गाउँपालिकाले संघीय सरकारको सहयोगमा मच्छी ठुलाबेासी खण्डको १२ किलोमिटरमध्ये चालु आर्थिक वर्षमा डेढ करोड लागतमा करिब २ किलोमिटर सडक स्तरोन्नतिको काम सुरू गरेको छ।