
गोरखा । तत्कालीन समयमा सानो राज्य गोरखाका राजा पृथ्वीनारायण शाहले बाइसी चौबिसे राज्यमा विभाजित स-साना राज्य एकीकरण गरेर विशाल नेपाल निर्माण गर्नुभयो ।
आधुनिक नेपालको उद्गम थलो गोरखाको यहि इतिहासलाई जीवन्त बनाउन नेपाली सेना र स्थानीय सरकारले हातेमालो गरिरहेका छन् । गोरखा सदरमुकामस्थित ठूलोआागनमा रहेको शालिकमा नेपाली सेनाको परम्परागत गुरुज्यूको पल्टनले यसरी दैनिकरूपमा बिहान र बेलुका सलामी दिने गरेको छ ।
त्यस्तै नेपाली सेनाले नै कोट, गढी र किल्ला संरक्षण अभियानअन्तर्गत पृथ्वीनारायण शाह र उहाँको सेनाले प्रयोग गरेका मार्गहरूमा गोरखादेखि पूर्वतर्फ काठमाडौं र गोरखादेखि पश्चिमतर्फ जितगढीसम्म बर्षेनि पदयात्रा पनि आयोजना गर्ने गरेको छ ।
गोरखामा गोरखा दरबार, गोरखा संग्रहालय, रानी पोखरी, गोरखनाथ, गोरखकाली मन्दिरलगायतका सामरिक तथा पुरात्तात्विक महत्व बोकेको ऐतिहासिक ठाउँहरू छन् । इतिहास प्रवर्द्धनका लागि 'गोरखा जहाँ इतिहास जीवित छ' भन्ने नारासहित गोरखा नगरपालिकाले पर्यटन वर्षसमेत घोषणा गरेको छ ।
विसं १७७९ पुस २७ गते गोरखाको माझकोटमा रहेको गोरखा दरबारमा पृथ्वीनारायण शाह जन्मिनुभएको थियो । पृथ्वीनारायण शाहका दिव्य उपदेशहरू अहिले अवस्थामा समेत सान्दर्भिक छन् ।