राति बाटोमै सुत्केरी भएकी महिलाको उद्धार

पुस २६, २०८२ |जनकबहादुर शाही
राति बाटोमै सुत्केरी भएकी महिलाको उद्धार

हुम्ला । सिमकोटमा माईनस ८ डिग्रीको कठोर चिसोमा, राति ११ बजे बाटोमै सुत्केरी भएकी २२ वर्षीया शुसिला परियारलाई उद्धार गरि अस्पताल पुर्याईएको छ ।

खार्पुनाथ–४, छिप्रा घर भएकी शुसिला, सिमकोट–६, लादेबाडा माईती घरमा बस्दै आएकी थिइन् । शुक्रबार राति अचानक सुत्केरी बेथा लागेपछि अस्पताल जाने क्रममा माथिल्लो बजार, पद्मा फर्निचर नजिकै बाटोमै उनी सुत्केरी भएकी हुन् ।

रेडियो कैलाश, स्नोल्याण्ड एकीकृत विकास केन्द्र र वानहट वल्डवाइडका कर्मचारीहरूको सहयोगमा उनलाई तत्कालै काली चोक पुर्याएर जिल्ला अस्पतालको एम्बुलेन्समार्फत सुरक्षित अस्पतालसम्म पुर्‍याएको संचारकर्मी ओबराज शाहीले बताए ।

बाटोमै जन्मिँदा आमा–छोराको जीवन जोखिममा थियो, तर समयमै उद्धार गर्दा दुबै सुरक्षित छन् । सफल उद्धारपछि आमा–छोरा दुवै सुरक्षित रहेको चिकित्सकको भनाई छ । 


Image

जनकबहादुर शाही

शाही कान्तिपुर टेलिभिजनका हुम्ला संवाददाता हुन् ।