विशेष महाधिवेशनबाट पछि हटेन गगन-विश्वप्रकाश समूह, जिल्लाजिल्लाबाट प्रतिनिधि आउने क्रम जारी

पुस २५, २०८२ |कान्तिपुर टीभी संवाददाता
विशेष महाधिवेशनबाट पछि हटेन गगन-विश्वप्रकाश समूह, जिल्लाजिल्लाबाट प्रतिनिधि आउने क्रम जारी

काठमाडौं । नेपाली कांग्रेसको पुस २७ र २८ मा काठमाडौं हुने विशेष महाधिवेशनमा सहभागी हुने नहुने विषयमा विवाद चर्किइरहँदा विशेष महाधिवेशन पक्षधरहरू काठमाडौं आउन थालिसकेका छन् । 

पार्टीको केन्द्रीय समितिको निर्णयअनुरूप वैशाखमा नियमित महाधिवेशन हुनपर्ने पक्षमा रहेकाहरू पनि राजधानी केन्द्रित नै छन् । अधिकांश जिल्लामा विशेष महाधिवेशनमा सहभागितालाई लिएर विज्ञप्ति निकाल्ने होडबाजी देखिएको छ । कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको गृह प्रदेश कर्णालीमा ३० प्रतिशत प्रतिनिधि विशेष महाधिवेशन सहभागी हिँडेका छन् । 

कर्णालीका ३ सय १२ जना प्रतिनिधिमध्ये जुम्लाका १९, कालीकोटका १४, सल्यानका ११, दैलेखका १०, रूकुमपश्चिम र जाजरकोटका ९/९, डोल्पाका ६, सुर्खेत र मुगुका ४/४ र हुम्लाका ३ जना विशेष महाधिवेशनका लागि काठमाडौं आएका हुन् । कर्णालीका दशमध्ये ६ जना जिल्ला सभापति, एक कार्यवाहक सभापति र एक जना उपसभापतिले संयुक्त विज्ञप्ति निकालेर विशेष महाधिवशेनमा सहभागी नहुन आह्वान गरेका हुन् । 

कालीकोट र सल्यानका सभापतिहरूले भने विज्ञप्ती निकालेर विशेष महाधिवेशनमा भाग लिन आह्वान गरेका छन् । यता गण्डकी प्रदेशका ११ मध्ये ४ जिल्लाका सभापतिले विज्ञप्ति नै निकालेर विशेष महाधिवेशनमा जाने बताएका छन् । महाधिवेशनमा जाने जिल्लामा कास्की, नवलपुर, पर्वत, गोरखा रहेका छन् । अन्य जिल्लाका केहि क्षेत्रीय सभापतिहरूले पनि सहभागी हुन आह्वान गरेका छन् ।

उता सुदूरपश्चिमका ९ मध्ये ६ जिल्लाका सभापतिहरूले विशेष महाधिवेशनमा सहभागी नहुन अपील गरेका छन् । विधानविपरीत विशेष महाधिवेशन बोलाइएको भन्दै कैलाली, कञ्चनपुर, बझाङ, डोटी, डडेलधुरा र अछामका सभापतिहरूले संयुक्त विज्ञप्ति जारी गर्दै विशेष महाधिवेशनका नाममा गरिने कुनै पनि गतिविधिमा नलाग्न आग्रह गरेका हुन् ।

त्यस्तै मधेश प्रदेशमा कांग्रेस मधेश प्रदेश उपसभापति वीरेन्द्रप्रसाद सिंहले आठ जिल्लाका ८ सय ५० महाधिवेशन प्रतिनिधिमध्ये ६० प्रतिशत विशेष महाधिवेशनको पक्षमा रहेको दाबी गर्नुभएको छ । तर सप्तरीबाहेक अरू सात जिल्लाका सभापतिहरू संस्थापन पक्षको निर्णयमा उभिएका छन् ।

अर्घाखाँचीबाट बहुमत महाधिवेशन प्रतिनिधिसहित १ सयभन्दा बढी कार्यकर्ता विशेष महाधिवेशनमा सहभागी हुन काठमाडौं हिँडेका छन्। अर्घाखाँचीका २५ जना महाधिवेशन प्रतिनिधिमध्ये २० जना विशेष महाधिवेशनको पक्षमा खुलेको कांग्रेस जिल्ला सचिव अच्युत गौतमले दाबी गर्नुभएको छ ।

कोशी प्रदेशका १४ मध्ये मोरङ, झापा, सुनसरी, इलाम, ओखलढुंगा, ताप्लेजुङका जिल्ला सभापतिहरू र पाँचथर र संखुवासभाका कार्यवाहक सभापति नियमित अधिवेशनको पक्षमा उभिएका छन् । यस्तै उदयपुर, भोजपुर, धनकुटा र तेह्रथुमका सभापतिहरू विशेष महाधिवेशको पक्षमा छन् । नियमित महाधिवेश तोकिसकेको अवस्थामा विशेष महाधिवेशनको औचित्य नभएको कांग्रेस कोशी प्रदेश सभापति उद्धव थापा दाबी गर्नुहुन्छ ।

८ सय ७१ प्रतिनिधि रहेको बागमती प्रदेशमा बहुमत प्रतिनिधि महाधिवेशनको पक्षमा देखिएका छन् । धादिङका ५३ प्रतिनिधिमध्ये विशेष महाधिवेशनको पक्षमा ३३ जना छन् । एकाधबाहेक धेरैजसो प्रतिनिधि अहिले काठमाडाैंमा नै छन् । यता चितवनबाट ७५ प्रतिशतभन्दा बढी प्रतिनिधि विशेष महाधिवेशनमा सहभागी हुने देखिएका छन् । 

कांग्रेसका जिल्ला उपसभापति लेखबहादुर कार्कीको नेतृत्वमा रामेछापबाट १७ जनाले विशेष महाधिवेशनको समर्थनमा हस्ताक्षर गरेका छन् । मकवानपुरबाट २७ जना महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको लागि हस्ताक्षर नै बुझाएको भए पनि बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियााले आफ्नो गृहजिल्लाबाट प्रतिनिधिलाई काठमाडौं आउन रोक्न भूमिका खेलिरहनुभएको छ ।

दोलखाबाट विशेष महाधिवेशन पक्षमा ७ जना छन् । उनीहरू अजयबाबु शिवाकोटीको नेतृत्वमा सहभागी हुँदैछन् । सिन्धुलीमा ३७ जनाले विशेष महाधिवेशन पक्षमा यसअघि नै हस्ताक्षर गरिसकेका छन् । काभ्रेका २६ महाधिवेशन प्रतिनिधिले पक्षमा हस्ताक्षर गरेको छन् भने अरुले पनि खुल्ने संकेत गरेका छन् ।

जिल्ला सभापति पेम्बा छिरिङ तामाङले बिहीबार विज्ञप्ति जारी गर्दै रसुवाबाट निर्वाचित महाधिवेशन प्रतिनिधिहरूलाई विशेष महाधिवेशनमा सक्रिय सहभागिता जनाउन अनुरोध गर्नुभएको छ । यता नुवाकोटबाट विशेष महाधिवेशनको पक्षमा २१ जना देखिएका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.