निर्वाचन परिणामपछि दलहरू सक्रिय : समीक्षा र समानुपातिक सांसद चयन

फाल्गुन ३०, २०८२ |कान्तिपुर टीभी संवाददाता
निर्वाचन परिणामपछि दलहरू सक्रिय : समीक्षा र समानुपातिक सांसद चयन

काठमाडौं । फागुन २१ गते सम्पन्न निर्वाचन परिणामलाई लिएर दलहरूले समीक्षा सुरू गरेका छन् । 

नेकपा एमालेले शनिबार सचिवालय बैठक गरेर समीक्षा सुरू गरेको छ भने अन्य दलहरूले पनि बैठक बोलाएका छन् । निर्वाचन आयोगले दिएको समयसीमाभित्रै समानुपातिक सांसदको सूची सिफारिस गर्नेसहित निर्वाचन परिणामबारे दलहरूले छलफल थालेका हुन् ।

नेकपा एमालेले पार्टी नेतृत्वप्रतिको गलत भाष्य चिर्न नसक्दा निर्वाचनमा हार बेहोर्नुपरेको निष्कर्ष निकालेको छ । शनिबार भक्तपुरको गुण्डुमा बसेको सचिवालय बैठकले पार्टीले गरेका काम जनतामाझ पुर्याउन नसक्दा र भदौ २३ र २४ को घटनासहितका राजनीतिक घटनाक्रम जनतामाझ स्पष्ट राख्न नसक्दा जनमत प्रतिकूल गएको निष्कर्ष निकालेको हो । 

एमालेले ७ बटै प्रदेशबाट समीक्षा रिपोर्ट आएपछि केन्द्रीय स्तरबाट विस्तृत समीक्षा गर्ने तयारी गरेको छ । प्रदेश कमिटीहरूले पनि वडा तहसम्मै पुगेर समीक्षा सुरू गरेका छन् । एमालेले समानुपातिकतर्फ आफूलाई प्राप्त १६ उम्मेदवारको नाम निर्वाचन आयोगलाई सिफारिस गरेको छ । 

पार्टी उपाध्यक्ष रामबहादुर थापा, सचिव पद्मा अर्याल, पूर्वउपाध्यक्ष गुरूप्रसाद बरालसहितको नाम एमालेले सिफारिस गरेको हो । निर्वाचनमा पाचौँ ठूलो दल बनेको श्रम संस्कृति पार्टीले भने शुक्रबार नै समानुपातिकतर्फका सांसदहरूको नाम टुंग्याएको छ । 

श्रम संस्कृतिले आदिवासी महिलामा मन्दिरा मोक्तान, दलित महिलामा राधिका रम्तेल, खसआर्य महिलातर्फ अम्बिका संग्रौला र आदिवासी जनजाती पुरुषमा पूर्ण लिम्बुको नाम समानुपातिक सांसदका लागि सिफारिस गरेको हो । आकांक्षीहरूको किचलोकाबीच अध्यक्ष हर्क साम्पाङसहित मुख्य नेतृत्व बसेर शुक्रबार समानुपातिक सांसदको नाम टुंग्याएको हो ।

समानुपातिकमा ५७ सिट पाएको राष्ट्रिय स्वतन्त्र पार्टी, २० सिट पाएको नेपाली कांग्रेस, ९ सिट पाएको नेपाली कम्युनिष्ट पार्टी र ४ सिट पाएको राष्ट्रिय प्रजातन्त्र पार्टीले सांसद चयन गर्न सोमबार बैठक बोलाएका छन् । सांसद बन्न समानुपातिक सूचीमा परेका उम्मेदवारले तीव्र आकंक्षा राख्दा अधिकांश दलमा नाम टुंग्याउन सकस गरेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.