
काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले सही तथ्यांकले नै असल नीति निर्माण सकिने बताउनुभएको छ ।
शुक्रबार राष्ट्रिय तथ्यांक कार्यालयले नेसनल ट्रान्सफर एकाउन्ट प्रतिवेदन सार्वजनिक गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकारले केही समयभित्रै स्थानीय तहमा मानव विकास सूचकाङ्क प्रतिवेदन तयार पार्ने बताउनु भयो ।
त्यसले नीति निर्माणलाई वैज्ञानिक र समयसान्दर्भिक बनाउने उहाँको विश्वास छ । मानव विकास सूचकाङ्कले प्रशासकीय विकासमा फाइदा पुर्याउने उहाँले बताउनु भयो । तथ्यांक संकलनका लागि नेपाल सरकारकै बजेटबाट पूर्णरूपमा तथ्यांक कार्यालयले मागेबमोमिको बजेट विनियोजन हुने पनि विश्वास व्यक्त गर्नुभयो । औद्योगिक विकासका लागि नीति निर्माण गर्न पनि तथ्यांकहरूको भूमिका महत्वपूर्ण हुने उहाँकाे भनाइ थियाे ।
उहाँले भन्नुभयो, ‘तथ्यांकहरू भएन भने हामी असल नीति निर्माण गर्न सक्दैनौँ । केही समय पछि एचडीआई निकाल्दैछौँ । गाउँपालिका, नगरपालिका तहमा निकाल्न सक्यो भने वैज्ञानिक हुनसक्छ । प्रशासकीय विकासमा यसले राम्रो गर्छ । ती नीतिहरु निर्माण गर्नको निमित्त फाइदाजनक हुन्छ । यसका लागि राष्ट्रिय तथ्यांक कार्यालयलाई सहयोग गर्न सरकार तयार छ ।’
उहाँले राष्ट्रिय महत्वका नीति निर्माण गर्न यस किसिमका तथ्यांकहरूको महत्वपूर्ण भूमिका हुने बताउनु भयो । आवश्यक तथ्यांकहरू नेपाल आफैं आत्मनिर्भर भएर निकाल्नुपर्नेमा उहाँले जोड दिनुभयो ।