बाँके । बाँकेको डुडुवा गाउँपालिकाको खालेमसाहामा ९ दिनअघि भएको सामुहिक बलात्कारको घट्नामा प्रहरीले जाहेरी लिन नमानेको भन्दै पीडितको परिवार काठमाडौं आइपुगेको छ।
उता सहजीकरण गर्नुपर्ने प्रहरी बहानाबाजीमा छ। यसले हाम्रो समाज र प्रशासन पीडितमैत्री छैन भन्ने मात्र देखाउँदैन न्यायका लागि आम नागरिकले सधैं अपमान र हैरानी व्यहोर्नै पर्छ भन्ने फेरि एकपटक प्रष्ट पारेको छ । बाँकेको डुडुवा गाउँपालिकाको खालेमसाहामा पुस १६ गते एक जना १६ वर्षीया दलित किशोरीको सामुहिक बलात्कार हुन्छ ।
राति साढे ११ बजेको समयमा शौचालय जान लागेका बेला आफ्नै घरको आँगनबाट ५ जना पुरुषले उनलाई लिएर जान्छन् र घर छेवैको गोठमा उनको करणी हुन्छ । पीडितका परिवारका अनुसार उनीहरुले घट्ना लगत्तै प्रहरी कार्यालय बाँकेमा जाहेरी समेत दिन जान्छन् । तर प्रहरीले विभिन्न राजनीतिक दबाबमा जाहेरी नै लिन नमानेको उनीहरुको भनाइ छ ।
प्रहरीले जाहेरी लिन नमानेपछि पीडितसहित परिवार बिहिबार काठमाडौं आइपुग्छ। र, शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै न्यायको याचना गर्छ । हामीले जिल्ला प्रहरी कार्यालय बाँकेमा पनि यो घट्नाका बारेमा बुझ्यौँ । प्रहरीका अनुसार महिला तथा बालबालिकाको लागि काम गर्ने संस्थामार्फत पीडित प्रहरीमा आएकी थिइन् ।
स्वास्थ्य परिक्षण गरेर आउन आग्रह गरेपछि फर्किएको परिवार त्यसपछि सम्पर्कमा नआएको तर तीन दिनअघि हुलाकमार्फत जाहेरी प्राप्त भएको प्रहरीको भनाइ छ। सनाखतका लागि व्यक्ति आएमा जाहेरी दर्ता हुने र कानुनी प्रकिया अघि बढ्ने प्रहरी बताउँछ ।
पीडित तथा प्रहरीको भनाइ सुन्दा एउटा प्रश्न उठाउने ठाउँ पक्कै छ । हुलाकमार्फत जाहेरी आएको तीन दिन मात्र भयो । तर सुरूका ६ दिन पिडित परिवारले भने जस्तै प्रहरीले कसैको दबाबकै कारण जाहेरी लिन नमानेको त होइन ? बाँकेदेखि पीडित परिवार काठमाडौं आएको छ।
छोरीमाथि सामुहिक बलात्कार भएको आमाको भनाइ छ। प्रहरीले जाहेरी नै नलिएको, धाकधम्की र दबाब आइ नै रहेको गुनासो छ। पीडितले घटनामा संलग्न भएको भनिएका पाँच जना बाहिरै छन्, अनुसन्धान सुरू नै भएको छैन। घटनाका बारेमा हामीले सोधीखोजी गर्दा प्रहरी भन्छ- कार्यालयमै हाजिर भए हामी जाहेरी लिन्छौं। तर विपन्न र दलित यो परिवारले भने न्यायका लागि राजधानी धाउनुपर्छ। न्यायको पहुँच यति कठिन किन भएको होला ?