
काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधि सभा चुनावका लागि निर्वाचन प्रहरीमा शुक्रबारबाट आवेदन खुला भएको छ ।
प्रहरी प्रधान कार्यालयले निर्वाचन प्रहरीका लागि भर्ना खोलेको हो । एक लाख ३३ हजार ९ सय ८० जना निर्वाचन प्रहरीका लागि शुक्रबारदेखि पाँच दिनसम्म आवेदन दिन सकिने छ । त्यसपछि छनोट प्रक्रिया सुरू हुनेछ । आवेदन हरेक जिल्लाबाट दिन सकिने छ ।
यता निर्वाचनका लागि ५५ दिन बाँकी रहँदा महत्वपूर्ण कामहरू धमाधम भैरहेका छन् । मतपत्र छपाइ, सेना परिचालनदेखि निर्वाचन प्रहरी भर्ना प्रक्रिया अघि बढिसकेको छ । जनकशिक्षा सामग्री केन्द्रले दश लाख प्रति नमुना मतपत्र छापिसकेको छ ।शुक्रबारदेखि समानुपातिक मतपत्र छपाइ सुरू हुनेछ । करिब २ करोड मतपत्र केन्द्रले छाप्नेछ ।
नेपाली सेनाले प्रतिनिधि सभा निर्वाचनका लागि ८० हजार सैनिक परिचालन गर्ने तयारी गरेको छ । निर्वाचनको एक महिनाअघिबाट फिल्डमा सेना परिचालन गरिनेछ । निर्वाचनका सिलसिलामा सेनाले तीन चरणमा काम गर्नेछ । निर्वाचनपूर्वको मुख्य जिम्मेवारी मतपत्र छपाइ सुरक्षादेखि महत्वपूर्ण संरचनाको सुरक्षा जिम्मेवारी सेनाले बहन गर्नेछ ।