
काठमाडौं । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताको अमेरिका भ्रमणलाई लिएर आयोजकबीच नै विवाद देखिएको छ ।
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिका सतेन्द्र साह पक्षधरले बब्लु गुप्तालाई अमेरिकामा कुनै पनि कार्यक्रममा आमन्त्रण नगरिएको बताएको छ । समन्वयको स्वीकृति बिना कुनै पनि कार्यक्रम, भ्रमण तथा गतिविधिहरू पूर्णरूपमा अवैध र अमान्य ठहरिने पनि उक्त समूहको दाबी छ । तर विकास उप्रेति अध्यक्ष रहेको राष्ट्रिय समन्वय परिषदले जेन-जी आन्दोलनपश्चात् उत्पन्न राष्ट्रिय अवस्था र सम्भावनाको सन्दर्भमा गैर-आवासीय नेपाली संघको, राष्ट्रिय समन्वय परिषद्ले मन्त्री गुप्तालाई निमन्त्रण गरिएको बताएको छ ।
गैर आवासीय नेपाली संघका अध्यक्ष बद्री केसीले भने कान्तिपुर टेलिभिजनसँग कुरा गर्दै कार्यक्रम पूर्वनिर्धारित नै रहेको बताउनुभयो । मन्त्रीको समय मिलेपछि राष्ट्रिय समन्वय परिषद् अमेरिकाले सम्पूर्ण कार्यक्रम सार्वजनिक गर्ने बताउनुभयो । गैर आवासीय नेपाली संघ एकतापछि एउटै लेटर प्याडमा पनि अलग अलग विज्ञप्ति आएपछि एनआरएन विवाद पुन: सतहमा देखिएको हो ।