भर्खरै सडक पुगेको हुम्लामा पेट्रोलियमको जोखिमपूर्ण भण्डारण

स्थानीयको गुनासोपछि प्रहरी-प्रशासनले थाल्यो अनुगमन
पुस २३, २०८२ |जनकबहादुर शाही
भर्खरै सडक पुगेको हुम्लामा पेट्रोलियमको जोखिमपूर्ण भण्डारण

हुम्ला । भर्खरै मात्र गाडीमोटर गुड्न थालेको हुम्लामा पेट्रोलियम पदार्थको भण्डारण, ओसारपसार तथा बिक्रीवितरण अत्यन्त जोखिमपूर्ण तरिकाले हुँदै आएको छ । 

जनस्तरबाट व्यापक गुनासो भएपछि सम्बन्धित निकायले संयुक्त बजार अनुगमन गरेको छ । यो अनुगमनलाई स्थानीयले ढिलै भए पनि सकारात्मक कदमका रूपमा लिएका छन्। साँघुरा गल्ली, काठका घर र घना बस्ती रहेको सिमकोट बजारभित्र पेट्रोल, डिजेल, मट्टीतेल र ग्यासजस्ता अत्यन्तै प्रज्वलनशील पदार्थको भण्डारण तथा बिक्री हुँदै आएको छ । 

सानो लापरबाहीले पुरै बजार सखाप हुनसक्ने जोखिम छ । घर वरिपरि ग्यास र पेट्रोल राखिएको हुँदा कुनै पनि बेला दुर्घटना हुन सक्ने डर स्थानीयमा छ । यही जोखिमलाई मध्यनजर गर्दै उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय, हुम्लाको आयोजनामा सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्रकुमार चन्दको संयोजकत्वमा संयुक्त बजार अनुगमन गरिएको हो। 

अनुगमनका क्रममा आगलागी नियन्त्रणका प्राथमिक उपकरणको अभाव, सुरक्षित भण्डारण मापदण्डको कमजोर पालना तथा अनुमति बिना प्रज्वलनशील पदार्थ भण्डारण गरिएको पाएकोछ । यो अनुगमनलाई स्थानीयले सरकारी जवाफदेहीतासँग पनि जोडेर हेरेका छन् । 

आगलागीका घटना बढिरहँदा पनि दीर्घकालीन सुरक्षा योजना नबनेको भन्दै प्रश्न उठिरहेका बेला यो अनुगमन भएको हो । सिमकोट हुम्लाको सबैभन्दा घना बस्ती भएको क्षेत्र हो । अव्यवस्थित र जोखिमपूर्ण तरिकाले गरिने पेट्रोलियम पदार्थको भण्डारण र ओसारपसारले यहाँ सधैँ आगलागीको जोखिम बढाइरहेको छ । 

अनुगमन औपचारिकतामा सीमित भयो भने त्यसको मूल्य नागरिकले चुकाउनुपर्नेछ । त्यसैले कडा अनुगमन गरी पेट्रोलियमको भण्डारण ओसारपसार तथा बिक्रीवितरणमा मापदण्डअनुसार नभएको पाइएमा कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने देखिन्छ ।


Image

जनकबहादुर शाही

शाही कान्तिपुर टेलिभिजनका हुम्ला संवाददाता हुन् ।