
कञ्चनपुर । कञ्चनपुर जलवायुजन्य विपद्का दृष्टिले उच्च जोखिममा रहेको जिल्ला हो ।
त्यहाँका नदी तटीय बस्तीहरू बर्षेनि बाढी, कटानलगायतका बहुप्रकोपको चपेटामा पर्दै आएका छन् । यिनै जोखिम न्यूनीकरणका लागि समुदाय, स्थानीय सरकार र साझेदार संस्थाहरूको सहकार्यमा गरिएको जैविक तटबन्ध प्रभावकारी देखिएको छ ।
हरेक मनसुनसँगै यहाँका नदी तटीय बस्तीहरू बाढी र कटानको चपेटामा पर्दै आएका छन् । महाकाली, जगबुडा, चौधर, बनरा, मछेली, दोदा र बन्द नदी यहाँका लागि प्राकृतिक श्रोत मात्र होइनन्, जोखिमका संकेत पनि बनेका छन् । यही जोखिम न्यूनीकरणका लागि समुदाय, स्थानीय सरकार र साझेदार संस्थाको सहकार्यमा जलवायु उत्थानशील समुदाय-सिआरसी परियोजना अघि बढिरहेको छ ।
परियोजनाअन्तर्गत नदी तटीय क्षेत्रमा निर्माण गरिएका जैविक तटबन्ध प्रभावकारी देखिएका छन् । कृष्णपुर नगरपालिका वडा नम्बर २, नयाँ बस्तीमा बन्द नदीको जोखिम न्यूनीकरणका लागि २०० मिटर जैविक तटबन्ध निर्माण गरिएको छ । रू ५ लाख ५८ हजार लागतमा बनेको यस संरचनाले ५५ घरधुरी, सामुदायिक वन, मन्दिर परिसर र खेतीयोग्य जमिन संरक्षण गरेको छ ।
त्यस्तै, अठन्निफाँटा क्षेत्रमा गरिएको तारवार, बगर संरक्षण र वृक्षारोपणले नदी कटान न्यूनीकरण गर्नुका साथै ६१ घरधुरीका लागि भविष्यको आयआर्जनको सम्भावना पनि सिर्जना गरेको छ । यसप्रति स्थानीय सरकार पनि उत्साहित देखिएको छ । जलवायु जोखिमको सामना गर्न समुदायको सक्रियता, स्थानीय सरकारको नेतृत्व र साझेदार संस्थाको सहकार्य अनिवार्य हुन्छ ।
सिआरसी परियोजनाअन्तर्गत निर्माण गरिएका जैविक तटबन्ध जोखिम न्यूनीकरणका उपाय मात्र होइनन्, नदी तटीय समुदायका लागि सुरक्षित र उत्थानशील भविष्यतर्फको भरोसा पनि हुन् ।