राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार छनोटप्रति कांग्रेसभित्रै विरोध

पुस २३, २०८२ |कान्तिपुर टीभी संवाददाता
राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार छनोटप्रति कांग्रेसभित्रै विरोध

काठमाडौं । राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार छनोटप्रति कांग्रेसभित्र विरोध भएको छ ।

महामन्त्री गगन थापाले उम्मेदवार छनोटमा गम्भीर आपत्ति जनाउनुभएको छ । उम्मेदवार छनोटको विधि, प्रक्रिया र प्रस्तावित नामप्रति आपत्ति जनाउँदै उहाँले केन्द्रीय कार्यसम्पादन समितिको निर्णयमा फरक मतसमेत राख्नुभएको छ । मंगलबारको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उम्मेदवार छनोटको सम्पूर्ण अधिकार सभापति शेरबहादुर देउवालाई दिने निर्णय गरेको थियो । 

तर महामन्त्री थापाको विरोधका कारण बुधबार बिहान पुनः बैठक बसेको थियो । बैठक बसेर छलफल गर्नुअगाडि नै उम्मेदवार तय गरेर मनोनयन गर्न जिल्ला जिल्लामा गइसकेको थापा पक्षको आरोप छ । थापाले एमालेसँग गठबन्धनको आधार के हो भनेर प्रश्नसमेत उठाउनुभएको छ । थापाले पार्टीभित्र आफू र विश्वप्रकाश शर्माविरुद्ध घेराबन्दी भएकोसमेत बताउनुभएको छ । नेपाली कांग्रेसले पछिल्लो समय प्रक्रिया, विधान निल्दै गएको आरोप उहाँले लगाउनुभएको छ ।

यसैगरी नेता अर्जुननरसिंह केसीले राष्ट्रिय सभाका सदस्य उम्मेद्वार छनोटको प्रक्रियाप्रति आपत्ति जनाउनुभएको छ । पार्टीभित्र पर्याप्त छलफल नगरी नौ जना व्यक्तिको नाम टुंग्याइएको उहाँको आरोप छ । उहाँले यसलाई लोकतन्त्रका लागि लज्जास्पद प्रक्रिया भएको टिप्पणी गर्नुभयो ।

नेपाली कांग्रेसजस्तो लोकतान्त्रिक पार्टीले प्रक्रियागत छलफल नै नगरी सूची प्रस्तुत गरिनु लोकतान्त्रिक अभ्यास नभएको उहाँको भनाइ छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.