
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् पुनर्गठन गर्नुभएको छ ।
पुनर्गठित मन्त्रिपरिषद्मा आठ जना मन्त्री र दुई जना राज्यमन्त्री नियुक्त भएका छन् । नवनियुक्त मन्त्री र राज्यमन्त्रीहरूले मङ्गलबार नै पद तथा गोपनियताको सपथ लिएका छन् । कांग्रेस र एमालेका चार चार मन्त्री र एक-एक जना राज्यमन्त्री नियुक्त भएका छन् ।
मुख्यमन्त्री कार्कीले मन्त्री र राज्यमन्त्रीको सिङ्गो सेट नै परिवर्तन गर्नुभएको हो । नेपाली कांग्रेसका तर्फबाट केन्द्रीय सदस्य प्रदीपकुमार सुनुवारले भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी लिँदै सरकारमा कांग्रेसको नेतृत्व गर्नुभएको छ । भीम पराजुली पर्यटन, वन तथा वातावरणमन्त्री बन्नुभएको छ ।
कांग्रेसकै मानबहादुर लिम्बू स्वास्थ्य र ईस्राइल मन्सुरी उद्योग, कृषि तथा सहकारी मन्त्री बन्नुभएको छ । शोभा चेम्जोङलाई भौतिक पूर्वाधार विकास राज्यमन्त्रीको बनाइएको छ । एमालेका तर्फबाट चिन्तन पाठकले खानेपानी, सिञ्चाइ तथा ऊर्जा मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ भने विदुरकुमार लिङ्थेप आर्थिक मामिला तथा योजनामन्त्री बन्नुभएको छ ।
ईन्द्रमणि पराजुली आन्तरिक मामिला तथा कानुनमन्त्री बन्नु भएको छ भने रामप्रसाद मेहताले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ । उमाकान्त गौतम आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री बन्नुभएको छ । पुनर्गठित मन्त्रिमण्डलमा एकजना पनि दलित प्रतिनिधित्व छैन भने एक जना महिला राज्यमन्त्री छन् ।