
काठमाडौं । नेपालमा राजनीतिक अस्थिरता निम्त्याउनका लागि पटक-पटक विदेशी शक्तिहरूले खेल्ने गरेको पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले दाबी गर्नुभएको छ।
यसबारे नागरिक स्तरमा पनि सचेतना हुनुपर्ने भट्टराईको भनाइ छ। निर्वाचित सरकारलाई निर्वाचन गर्नसमेत नदिनका लागि देशभित्र र बाहिरका शक्ति लाग्ने गरेको उल्लेख गर्दै भट्टराईले २०६९ मा प्रधानमन्त्रीका रूपमा आफैंले घोषणा गरेको निर्वाचन गर्न नदिन विभिन्न शक्तिहरूको चर्को दबाबमा आफू परेको स्मरण गर्नुभयो।
कान्तिपुर टेलिभिजनको साप्ताहिक कार्यक्रम फायरसाइडमा कुरा गर्दै भट्टराईले तत्कालीन राष्ट्रपतिले प्रधानसेनापतिमार्फत 'कू' गर्ने चेतावनी नै दिएकोसमेत खुलासा गर्नुभयो। २०७३ सालमा वैकल्पिक राजनीतिको नेतृत्व गर्ने भन्दै नयाँ शक्ति नेपाल नामक दलको घोषणा गर्नुभएका भट्टराईले तत्कालीन दल र हालको राष्ट्रिय स्वतन्त्र पार्टीबीच तुलना गर्दै वैचारिक रूपमा रास्वपा अझैं बलियो हुनुपर्ने सुझाव दिनुभयो।
रवि लामिछाने, बालेन्द्र शाह र कुलमान घिसिङ एक ठाउँमा आउनु सकारात्मक भए पनि तीन पात्रको प्रवृत्ति र विचारमा समानताले यसको भविष्य निर्धारण हुने उहाँको भनाइ छ। भट्टराईसँगको पूरा अन्तर्वार्ता साेमबार राति ९ बजे कान्तिपुर टेलिभिजनमा प्रसारण हुनेछ। कार्यक्रम कान्तिपुर टेलिभिजनको युट्युब च्यानल र कान्तिपुर टिभी एपमा पनि हेर्न सकिनेछ।