प्रतिनिधि सभा निर्वाचनका लागि शीर्ष नेता सुरक्षित क्षेत्र खोज्ने ध्याउन्नमा

दाहाल ९ र गगन ५ जिल्लामा सिफारिस
बालेन्द्रलाई काठमाडौंमै उठाउने रास्वपाको तयारी
बाबुराम चुनाव नलड्ने
पुस २१, २०८२ |अञ्जना लामिछाने
प्रतिनिधि सभा निर्वाचनका लागि शीर्ष नेता सुरक्षित क्षेत्र खोज्ने ध्याउन्नमा

काठमाडौं । फागुन २१ को प्रतिनिधि सभा निर्वाचनका लागि दलहरू अहिले धमाधम उम्मेदवार सिफारिस गरिरहेका छन् । 

तर दलमा शीर्ष नेता र प्रभाव राख्ने नेतालाई भने सुरक्षित चुनाव क्षेत्र खोज्नैको ध्याउन्न छ । नेकपा संयोजक पुष्पकमल दाहाल ९ जिल्लाबाट सिफारिस हुँदा कांग्रेसका गगन थापा ६ जिल्लामा सिफारिस हुनुभएको छ । कतै एकल सिफारिस हुँदा कतै भने एकै क्षेत्रमा दर्जनौं आकांक्षी देखिएका छन् । 

केही नेता पुरानै निर्वाचन क्षेत्रमा दोहोरिन लाग्दा केही निर्वाचन क्षेत्र परिवर्तनको मनस्थितिमा देखिएका छन् । कुन नेता कहाँबाट सिफारिस भए ?

फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि अहिले राजनीतिक दलभित्र उम्मेदवार सिफारिसको रस्साकस्सी चलिरहेको छ । नयाँ-पुराना दलका शीर्ष नेतृत्वहरू प्रत्यक्ष निर्वाचन लड्ने मनस्थितिमा रहँदा धमाधम सिफारिस पनि भइरहेका छन् । काँग्रेस सभापति शेरबहादुर देउवा आफ्नै निर्वाचन क्षेत्र डडेल्धुराबाट निर्वाचन लड्ने तयारीमा हुनुहुन्छ । 

 त्यसैगरी शेखर कोइराला मोरङ तथा पूर्णबहादुर खड्का सुर्खेत-१ बाट निर्वाचन लड्ने तयारीमा हुनुहुन्छ । गगन थापा काठमाडौं-४ सहित सर्लाही, रोल्पा, धनकुटा, तेह्रथुम र कपिलवस्तुबाट सिफारिस हुनुभएको छ । तर थापाको प्राथमिकता काठमाडौं नै रहेको छ । 

त्यसैगरी देउवा पत्नि आरजु राणा पनि कैलालीमा सिफारिस हुनुभएको छ । प्रकाशमान सिंह यसअघि विजयी भएकै काठमाडौं-१ बाट सिफारिस हुनुभएको छ । एमालेले पनि धेरै ठाउँमा उम्मेदवारी सिफारिस टुङ्ग्याएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली आफ्नै निर्वाचन क्षेत्र झापा-५ बाट निर्वाचन लड्दै हुनुहुन्छ । 

त्यसैगरी महासचिव शंकर पोखरेल दाङ-२ बाट, विष्णु पौडेल रूपन्देही-२, पृथ्वी सुब्बा गुरुङ लम्जुङ, इश्वर पोखरेल काठमाडौं-५ बाट र महेश बस्नेत भक्तपुर-२ बाट एकल सिफारिसमा पर्नुभएको छ । एमालेमा दुई दर्जन उम्मेदवार एकल रूपमा सिफारिस हुँदा एक जना पनि महिला उम्मेदवार परेका छैनन् ।

नेकपाले भने सिफारिस टुङ्ग्याइसकेको छैन् । नेकपाका संयोजक पुष्पकमल दाहालको अहिलेसम्म निर्वाचन क्षेत्र टुङ्गो लागेको छैन् । यसअघि गोरखा-२ बाट विजयी हुनुभएका पुष्पकमल दाहाल यसपटक पनि निर्वाचन क्षेत्र परिवर्तन गर्ने मनस्थितिमा देखिनुभएको छ । 

दाहाल कास्की, कालिकोट, गोरखा, सिन्धुली, नुवाकोट, कैलालीसहित ९ जिल्लाबाट सिफारिस हुनुभएको छ । सहसंयोजक माधवकुमार नेपाल आफ्नै निर्वाचन क्षेत्र रौतहटबाट चुनाव लड्दै हुनुहुन्छ । नयाँ दलमा पनि शीर्ष नेता प्रत्यक्ष चुनाव लड्दैछन् । खासगरी रास्वपा, बालेन्द्र शाह र कुलमान घिसिङको उज्यालो नेपालको एकतापछि प्रतिस्पर्धा रोचक हुने देखिएको छ । 

रवि लामिछाने चितवन-२ बाट निर्वाचन लड्दै हुनुहुन्छ । बालेन्द्र शाह काठमाडौं-२ बाट लड्ने र यसअघि काठमाडौं-२ बाट निर्वाचित सोविता गौतमलाई चितवन-३ मा उम्मेदवार बनाउने रास्वपाको तयारी छ । काठमाडौंमा धेरै सिट जित्ने रणनीति बनाएका दलहरुले सबै क्षेत्रमा उम्मेदवारको नाम सिफारिस गरिसकेका छन । 

काठमाडौं-१ मा व्यवसायी असिममानिसंह बस्नेत र पुकार बमको नाम सिफारिस भएको छ । काठमाडौं-५ मा श्री गुरुङसहित अन्य २ जनाको नाम सिफारिस गरिएको छ । यसअघि निर्वाचित शिशिर खनाल ६, गणेश पराजुली ७ र विराजभक्त श्रेष्ठलाई ८ नम्बर क्षेत्रबाटै उम्मेदवार बनाउने तयारी छ । ९ मा यसपटक डीपी अर्याललाई उम्मेदवार बनाउने भनिएको छ भने १० मा टुङ्ग्याउन बाँकी छ ।

तर पर्वप्रधानमन्त्री बावुराम भट्टराई प्रलपाका तर्फबाट गोरखाबाट सिफारिस भए पनि निर्वाचन नलड्ने बताउनुभएको छ भने पुर्वप्रधानमन्त्री झलनाथ खनाललाई गृहजिल्ला इलाम र काठमाडौं-८ बाट सिफारिस आएको छ । यसबाहेक मधेशकेन्द्रित दलहरुमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव सप्तरीबाट निर्वाचन लड्ने तयारी गर्दै हुनुहुन्छ । 

पहिलो पटक निर्वाचनमा होमिएको नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द रोल्पाबाट निर्वाचन लड्ने तयारीमा हुनुहुन्छ ।


Image

अञ्जना लामिछाने

लामिछाने कान्तिपुर टेलिभिजनकी संवाददाता हुन् ।