
काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राष्ट्रिय सभा सदस्य निर्वाचनमा कांग्रेसले चुनावी तालमेल गर्ने बताउनुभएको छ ।
सोमबार पत्रकार सम्मेलनका क्रममा नेता सिटौलाले राष्ट्रिय सभा सदस्य निर्वाचनमा कांग्रेस एक्लै लडेर परिणाम निकाल्न नसक्ने बताउनुभएको हो । उहाँले चुनावी तालमेललाई गठबन्धन भन्न नहुने बताउनु भयो । प्रतिनिधि सभाको निर्वाचनमा भने कांग्रेस एक्लै आफ्ना एजेन्डाहरू लिएर जनतामाझ जाने उहाँकाे भनाइ छ । उहाँले आम निर्वाचन पार्टीको सिद्धान्त, नीति, विचार संप्रेषण गर्ने माध्यम भएको बताउनु भयो ।
नेता सिटौलाले पार्टीको विशेष महाधिवेशन नहुने र यसको औचित्य सकिसकेको पनि बताउनु भयो । उहाँले केन्द्रीय कार्यसम्पादन समितिको निर्णय सबै नेताहरूले मान्नुपर्ने र अब आगामी निर्वाचनमा लाग्नुपर्ने बेला आएको बताउनु भयो । आगामी निर्वाचनमा एकताबद्ध भएर लाग्नसके राम्रो परिणाम ल्याउन सकिने उहाँले बताउनु भयो ।
निर्वाचनपछि १५ औं महाधिवेशन गर्ने कार्यतालिका आइसकेकाले त्यसतर्फ केन्द्रित हुनुपर्ने उहाँकाे भनाइ छ । अहिले आन्तरिम प्रतिस्पर्धा गर्ने बेला नभएको भन्दै आन्तरिक प्रतिस्पर्धाको कलहबारे आफूहरू सतर्क रहेको पनि उहाँले बताउनु भयो । कांग्रेस एकताबद्ध भएर निर्वाचनमा जानुपर्ने पनि उहाँले बताउनु भयो ।