
परासी । शीतलहर बढेपछि पश्चिम नवलपरासीको जनजीवन प्रभावित बनेको छ ।
कठ्याङ्ग्रिँदो चिसोले बाहिर हिँडडुल गर्न स्थानीयलाई समस्या परेको छ । जाडोको कारण जिल्लाको मुख्य बजार बर्दघाट, भुमही, सुनवल, परासीलगायतका क्षेत्रमा चहलपहल घटेको छ । मानिसहरू आगो तापेर चोक-चोकमा बसिरहेका छन् ।
शीतलहरले विशेष गरेर बालबालिका र वृद्धवृद्धालाई रूघा, खोकी र ज्वरोको समस्या बढेको छ । जिल्ला अस्पताल पृथ्वीचन्द्र अस्पताललगायत जिल्लाका स्वास्थ्य संस्थामा रूघा खोकीका बिरामी बढेका छन् । एक हप्तासम्म शीतलहर चलेर केही दिन घाम लागे पनि शनिबारदेखि फेरी हुस्सु लागेको रामग्राम नगरपालिका-११ का मोहन चौधरीले बताउनुभयाे ।
चिसोको प्रभावले पूर्वपश्चिम राजमार्गमा सवारी दिउँसो नै बत्ती बाले हिँड्नुपर्ने अवस्था छ । विशेष गरेर दाउन्ने खण्डमा हुस्सुले अगाडिको सवारी नदेखिने समस्याले गर्दा सवारी साधन बत्ती बालेर हिँड्ने गरेका छन् ।