
कञ्चनपुर । सशस्त्र प्रहरीले कञ्चनपुरको गड्डाचौकीबाट पूर्व-पश्चिम झण्डा मार्च सुरू गरेको छ ।
२५औं स्थापना दिवसको अवसर पारेर सशस्त्र प्रहरीले पश्चिमी सीमा नाका गड्डाचौकीबाट आइतबार पूर्व-पश्चिम झण्डा मार्च सुरू गरेको हो । सशस्त्र प्रहरी बलको स्थापनाको २५ वर्षलाई स्मरणीय बनाउने र राष्ट्रव्यापी सन्देश प्रवाह गर्ने उद्देश्यले पूर्व-पश्चिम झण्डा मार्च गरिन लागेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ वैद्यनाथ बाहिनी मुख्यालय अत्तरियाका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक प्रदीपकुमार पालले बताउनुभयो ।
मार्चमा ३५ जनाको टोलीले पैदल यात्रा गर्नेछ । गड्डाचौकीबाट सुरू भएको झण्डा मार्च सीमा क्षेत्र हुँदै १९औँ दिनमा पूर्वी नवलपरासी पुग्नेछ । झापाबाट पनि आइतबार नै झण्डा मार्च सुरू भएको छ । दुबै टोलीले १९औं दिनमा पूर्वी नवलपरासीमा भेट गरी त्यहाँ विशेष समारोह गर्दै सशस्त्र प्रहरीले स्थापनाको रजत महोत्सव मनाउने जनाएको छ ।