देशैभर एकसाथ जलपन्छी गणना सुरू

४ सयभन्दा बढी चराविद्, नेचरगाइड, वाइल्डलाइफ फोटोग्राफर र स्वयंसेवक परिचालन
पुस १९, २०८२ |मनोज पौडेल
देशैभर एकसाथ जलपन्छी गणना सुरू

कपिलवस्तु । आजदेखि देशैभरका ताल तलैया, नदी सिमसार क्षेत्रमा जलपन्छी गणना सुरू भएको छ । 

जलपन्छीको संख्या अद्यावधिक गर्दै संरक्षणमा स्थानीय समुदायलाई सहभागी गराइ जनचेतना अभिवृद्धिका लागि हरेक वर्ष जलपन्छीको अनुगमन र गणना गर्ने गरिन्छ । यस वर्ष माघ ४ गतेसम्म गणना चल्ने छ । मुलुकभर ४ सयभन्दा बढी चराविद्, नेचरगाइड, वाइल्डलाइफ फोटोग्राफर र स्वयंसेवक जलपन्छी गणनामा सहभागी छन् । 

पूर्वको कोशीदेखि पश्चिममा शुक्लाफाँटासम्म गणना हुनेछ । तराईको जगदीशपुर पन्छी आरक्षदेखि हिमाली क्षेत्र रारा तालसम्मका चरा गणना हुँदैछन् । देशभरका १८ प्रमुख सिमसार क्षेत्रअन्तर्गत ८० भन्दा धेरै ठाउँमा चरा गणना गरिने छ । हरेक ठाउँमा चरा गणनाका लागि तोकिएका संयोजकले अनुकूल समय मिलाएर गणना गर्नेछन् ।

काठमाडौंको चोभारदेखि टौदहसम्मका सिमसार र नदी किनारमा शनिबार बिहानबाटै चरा गणना सुरु गरिएको छ । चितवनलाई पूर्वी, पश्चिमी र मध्य तीनभागमा विभाजन गरी चरा गणना गरिनेछ । त्यस्तै कोशी टप्पु, धनुषाधाम, हेटौंडा र नवलपुर सिमासार क्षेत्रका चरालाई पनि गणनामा ल्याइनेछ । 

पोखरामा पुस २३ गतेबाट गणना सुरु गरिनेछ । विश्व सिमसार क्षेत्रमा सूचिकृत बिसहजारी र घोडाघोडी तालमा गणना गरिनेछ । लुम्बिनी क्षेत्र र दाङको राप्ती नदी, बाँके, बर्दिया र महाकाली नदीमा पनि गणना गरिनेछ । सन् १९८७ देखि हुँदैआएको यो ४० औं राष्ट्रिय जलपन्छी गणना हो । 

पानी, ताल तलैया, सिमसार र आसपासको क्षेत्रमा आहारविहार, प्रजनन गर्ने चराका प्रजातिलाई जलपन्छी हुन् । गणनाका क्रममा विद्यमान समस्या, वासस्थानको अवस्था र आम समुदायको धारणा पनि अभिलेख गरिने हुँदा यसले जलपन्छी र वासस्थान संरक्षणका लागि नीतिनिर्माण र कार्यान्वयनमा पनि टेवा पुर्‍याउने अपेक्षा छ ।

गणनाको रिपोर्ट वैशाखमा मनाइने वन्यजन्तु सप्ताहका बेला सार्वजनिक गरिनेछ । गत वर्ष मुलुकका १८ स्थानका ७८ क्षेत्रमा गरिएको गणनामा ९६ प्रजातिका ९६ हजार ५ सय ६५ जलपन्छी गणना गरिएको थियो । उत्तरी ध्रुवमा हिमपात हुन थालेसँगै चरा बसाइ सर्न थाल्छन् । 

त्यस क्रममा तल्लो हिमाली भेग, पहाड र तराईका सिमसार, धाप, तालतलैया र नदी आसपास हजारौं चरा आउने गर्छन् । वेटल्यान्ड इन्टरनेसनलको संयोजनमा नेपाल पन्छीविद् संघले समन्वय गरेर गणना गरिरहेको हो । यस्मा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र पन्छी संरक्षण संघ बीसीएनले सहयोग गरेका छन् ।


Image

मनोज पौडेल

पौडेल कान्तिपुर टीभीका कपिलवस्तु संवाददाता हुन् ।