आशिफ शाहद्वारा समानुपातिकबाट उम्मेदवारी फिर्ता लिएको घोषणा, काठमाडौं-५ बाट प्रत्यक्षमा उठ्ने

पुस १९, २०८२ |कान्तिपुर टीभी संवाददाता
आशिफ शाहद्वारा समानुपातिकबाट उम्मेदवारी फिर्ता लिएको घोषणा, काठमाडौं-५ बाट प्रत्यक्षमा उठ्ने

काठमाडौं । कलाकार आसिफ शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समानुपातिक सूचीमा आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गर्नुभएको छ ।

सामाजिक सञ्जाल फेसबुकमार्फत उहाँले जनता र पार्टीका कार्यकर्ताको भावनाअनुरूप समानुपातिक सूचीमा रहेको आफ्नो नाम फिर्ता लिने निर्णयमा पुगेको उहाँले उल्लेख गर्नुभएको छ । साथै, जनता र पार्टीका साथीहरूको भावनाअनुरूप, समानुपातिक सूचीमा रहेका अन्य व्यक्तिलाई पनि उहाँले नाम फिर्ता लिन आग्रह गर्नुभएको छ ।

'देश निर्माणका लागि आवश्यक योगदान, म जुनसुकै पद वा हैसियतमा रहे पनि, सधैँ गर्न तयार छु। तर जनता र पार्टीका साथीहरूको भावनामा चोट पुर्‍याएर समानुपातिक सूचीमार्फत सांसद बन्ने बाटो म रोज्न सक्दिनँ। यसै सूचनामार्फत म मेरो समानुपातिक उम्मेदवारी फिर्ता लिएको घोषणा गर्दछु ' उहाँले लेख्नुभएको छ ।

साथै उहाँले प्रत्यक्ष निर्वाचनमा उठ्ने निर्णय स्पष्ट रहेको उल्लेख गर्दै काठमाडौं ५ बाट प्रत्यक्षतर्फ उम्मेदवारी दिन पूर्णरूपमा तयार रहेको पनि घोषणा गर्नुभएको छ ।

अभिनेता तथा टेलिभिजन कार्यक्रम प्रस्तोता शाहको नाम रास्वपाको समानुपातिक सूचीमा मुस्लिम पुरुष क्लस्टरकाे १ नम्बरमा थियो । सहमतिको बिन्दुमा पुग्नुअघि रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच उहाँकै कार्यालयमा छलफल भएको थियो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.