आजदेखि स्वस्थानी व्रत सुरु

पुस १९, २०८२ |कान्तिपुर टीभी संवाददाता
आजदेखि स्वस्थानी व्रत सुरु

काठमाडौं । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म चल्ने एक महिना लामो श्रीस्वस्थानी व्रत आजदेखि सुरु भएको छ । यस अवधिमा व्रत बस्दा वा कथा सुन्दा धर्मपालन र भक्ति मार्गमा मन केन्द्रित हुने विश्वास गरिन्छ ।

श्रीस्वस्थानी व्रत सत्ययुगमा सुरू भएको पौराणिक मान्यता छ । हिमालय पर्वतकी पुत्री पार्वतीले भगवान् शिवलाई पतिरूपमा प्राप्त गर्न कठोर तपस्या र श्रीस्वस्थानी माताको व्रत गरेको र मनोकामना पूरा भई भगवान् शिवसँग विवाह भएको शास्त्रहरूमा उल्लेख छ । यही कारण श्रीस्वस्थानी व्रतलाई मनोकामना पूर्ति गराउने व्रतका रूपमा लिइन्छ । परम्परागत रूपमा विवाहित महिलाहरूले आफ्ना पतिको दीर्घायु, सुस्वास्थ्य र परिवारको समृद्धिका लागि श्रीस्वस्थानी व्रत बस्ने गर्दछन् । अविवाहित महिलाहरूले सुयोग्य वर प्राप्ति, सफल विवाह तथा जीवनमा स्थायित्वको कामनासहित व्रत लिने चलन छ । श्रीस्वस्थानी व्रतलाई बाह्य पूजामात्र नभई आत्मसंयम र आत्म शुद्धिको माध्यमका रूपमा लिइन्छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.