
झापा । झापाको भद्रपुर विमानस्थलमा हिजो राति बुद्ध एयरको जहाज रन–वेबाट चिप्लिएको छ । धावनमार्गबाट केही पर पुगेको जहाजमा क्षति भए पनि यात्रु र चालक दलका सदस्य सकुशल रहेको झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिनुभएको छ ।
काठमाडौंबाट ५१ जना यात्रु र ४ जना चालक दलका सदस्यसहित उडेको बुद्ध एयरको उडान नम्बर ९ सय १ एटीआर ७२ विमान हिजो राति ९ बजेर १० मिनेटमा भद्रपुर विमानस्थलमा अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएर ३ सय मिटर बाहिर पुगेको हो । सबै यात्रु तथा चालक दलका सदस्यलाई सकुशल जहाजबाट बाहिर निकालिएको झापा प्रहरीले जनाएको छ । जहाज चिप्लिएर धावनमार्गभन्दा पर गई भास्सिएपछि हतारमा बाहिर निस्कन खोज्दा ६ जना यात्रु र कोपाइलट सुशान्त श्रेष्ठलाई सामान्य चोट लागेको प्रहरीको भनाइ छ । घाइतेहरूलाई उपचाका लागि ओमसाई पाथीभरा अस्पताल भद्रपुर लगिएको छ । राति अबेरसम्म विमानबाट यात्रु र चालकदलका सदस्यलाई निकालिएको थियो । अत्तालिएका यात्रुहरू कोही इमरजेन्सी ढोको फोडेर त कोही झ्याल फोडेर बाहिर निस्किएका थिए ।