
हुम्ला । हिमाली जिल्ला हुम्लामा सडक विस्तार भए पनि जोखिम बढ्दै गएको छ।
सिमकोटदेखि गाउँ-गाउँसम्म, बोलेरो जिप, ट्रयाक्टर र मोटरसाइकल तीव्र गतिमा हिँडिरहेका छन्। क्षमता भन्दा बढी यात्रु बोकिने, ओभरलोड हुने र ट्राफिक प्रहरीको नियमित निगरानी नहुने अवस्था स्थानीयवासीका लागि दैनिक डर र चिन्ता बनेको छ।सडकमा हिँड्दा डर लाग्छ, कहिले दुर्घटना हुन्छ भन्ने अनुमान हुँदैन, स्थानीय सरोज रावतले चिन्तासाथ भन्नुभयाे । उहाँका अनुसार, ट्राफिक प्रहरी भए पनि उनीहरूको अनुपस्थिति र अनियमित ड्यूटीले नियम उल्लंघन बढाएको छ।
'साधन र जनशक्ति अभावका कारण हामी सडकमा पूर्ण निगरानी गर्न सकिरहेका छैनौं। तर हुम्लामा दिनानुदिन क्षमताभन्दा बढी सवारी र अस्थिर सडकले दुर्घटना जोखिम बढाउँदैछ गएको छ । सीमित स्रोत साधन, जनशक्ति कमि र पूर्वाधार अभावका कारण ट्राफिक व्यवस्थापन पर्याप्त रूपमा हुन सकेको छैन्।' जिल्ला ट्राफिक प्रहरी कार्यालय हुम्लाका प्रमुख राजेश चैधरीले भन्नुभयाे, 'हाम्रो क्षमताभन्दा बढी सवारी साधन सञ्चालन र सडकको अस्थिर अवस्था हुँदा दुर्घटना जोखिम बढ्दो छ। स्रोत साधन र जनशक्ति अभावका कारण ट्राफिक नियम पालनामा पूर्ण निगरानी गर्न कठिनाइ भइरहेको छ ।'
कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी हरीबहादुर बिसीले भन्नुभयाे, 'हुम्ला मात्र होइन, प्रदेशभरि भौगोलिक विकटता र सीमित स्रोत साधनले चुनौती थपेको छ। त्यसका बाबजुद ट्राफिक प्रहरी क्रमशः परिचालन भइरहेका छन्, नियम उल्लंघनमा कडाइ र जनचेतनामूलक कार्यक्रम पनि अघि बढाइरहेका छौं। हुम्लाको मात्र नभई कर्णाली प्रदेश भरिनै ट्राफिक प्रहरीको नियमित उपस्थिति, नियम उल्लङ्घन गर्ने सवारीमाथि कडाइका साथ कारबाही, र स्थानीय सरकारसँग समन्वय गरेर जनचेतनामूलक कार्यक्रम सञ्चालन गरी दुर्घटना न्यूनीकरणका लागि निगरानी, सचेतना र कारबाहीलाई सँगसँगै अघि बढाइएको छ ।'
स्थानीयवासीले भने, हामी सवारी सुरक्षित र सडकमा सुरक्षित यात्रा चाहन्छौं। ट्राफिक प्रहरीलाई सक्रिय र प्रभावकारी देख्न चाहन्छौं। हुम्ला जस्तो दूरदराजमा पनि सडक दुर्घटना र सवारी जोखिमले स्थानीय जीवनलाई छेकेर राखेको छ।' स्रोत साधन, दक्ष जनशक्तिक र ट्राफिक निगरानीलाई सँगै अघि बढाएर यात्रु र पैदलयात्रीको जीवन सुरक्षामा प्राथमिकता दिन हुम्ला बासीले सरोकारवाला निकायलाई आग्रह गरेका छन् ।