
काठमाडौं । आसन्न निर्वाचनका लागि समानुपातिक उम्मेदवार छनोटमा पनि नेपाली कांग्रेस र नेकपा एमाले लगायतका दलले शक्तिमा रहेका र अवसर पाएकालाई अग्रस्थानमा राखेका छ्न्।
पारदर्शी प्रणालीबाट अनुमोदित र नयाँ पुस्तालाई भन्दा एमालेले उपाध्यक्ष, पूर्वउपाध्यक्ष र सचिव जस्ता पार्टीमा पकड र पहुँच हुनेलाई प्राथमिकता दिएको छ । कांग्रेसले राष्ट्रपति भैसकेका नेताका छोरा र छोरीलाई राखेर बन्दसूची निर्वाचन आयोगलाई बुझाएको छ । जेन-जी आन्दोलनपछिको परिवर्तित राजनीतिक अवस्थामा हुन गैरहेको चुनावका लागि पुराना र मधेश केन्द्रित दलहरूले को-कस्ता व्यक्तिलाई बन्द सूचीमा राखे त ?
पुराना दल र नेताहरूको हालीमुहाली हुँदा राजनीतिमा रूपान्तरण र पुस्तान्तरण हुन नसकेको भन्दै आलोचना भैरहँदा नेपाली कांग्रेस र नेकपा एमालेले नेता र नेताका छोराछोरीलाई समानुपातिक सांसदको सूचीमा राखेका छन् । उनीहरूले वर्षौदेखि अवसर पाइरहेका तथा नेतृत्वको वरिपरि रहेका नेतालाई नै बन्दसूचीको प्राथमिकतामा राखेकोमा आलोचना पनि सुरू भैसकेको छ ।
नेकपा एमालेको पहिलो प्राथमिकतामा ७० वर्ष नाघेका पार्टी उपाध्यक्ष रामबहादुर थापालाई राखेको छ । जबकी थापा २०६४ सालको पहिलो संविधान सभा निर्वाचन जितेर २०६५ सालमै तत्कालीन नेकपा माओवादीबाट रक्षामन्त्री भैसक्नुभएको थियो । त्यसपछि गृहमन्त्री हुँदै एमालेमा दुई कार्यकाल उपाध्यक्षको जिम्मेवारी सम्हालेका थापालाई यसपाली पनि जनजाति कोटाको पहिलोमा राखिएको छ ।
२०५१ सालमै सांसद बनेका पूर्वउपाध्यक्ष गुरु बराललाई एमालेले खस आर्य कोटाको पहिलो नम्बरमा पारेको छ। पाँच पटक संसदीय चुनाव लडेका बराल एमालेको ११ महाधिवेशनमा पार्टी उपाध्यक्षमा पराजित नेता हुनुहुन्छ । त्यसो त एमालेले महिला कोटाबाट प्राथमिकतामा राखेकी पार्टी सचिव पद्मा अर्याल यसअघि मन्त्री भैसक्नुभएको छ ।
२०७९ सालमा स्याङजाबाट पराजित तथा पार्टीमा दुई पटक सचिव हुनुभएकी अर्याल पनि अवसर पाउने महिला नेता हुनुहुन्छ । एमालेले यसअघि पनि सांसद बनाइसकेका टुका हमाल, निरूदेवी पाल, शान्ता चौधरी, उषाकला राई र लक्की शेर्पालाई पनि समानुपातिक उम्मेदवारको बन्द सूचीमा दोहोर्याएर राखेको छ ।
नयाँ अनुहारमा क्रान्ति बुर्लाकोटी,भक्तकुमारी लामा, मीना बराम, निर्मल देउला, रामकुमार दास, सन्तबहादुर चेपाङ, ईच्चा चौधरी लगायत पनि एमालेको समानुपातिक सूचीमा अटाएका छन् । नेपाली कांग्रेसले दुईहजार ६४ सालयता समानुपातिकको सुविधा लिएका नेतालाई अवसर नदिने निर्णय गरे पनि प्रत्यक्ष निर्वाचनबाट सांसद र मन्त्री बनेकालाई समानुपातिक कोटामा राखेको छ।
कांग्रेसबाट पूर्वराष्ट्रपति रामवरण यादवका छोरा चन्द्रमोहनदेखि वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलकी छोरी संज्ञा पोखरेल पौडेलको नाम बन्दसूचीमा छ । कांग्रेसले पार्टीमा सहमहामन्त्री र पटक-पटक सांसद र मन्त्री बनेका ७८ वर्षका अर्जुननरसिंह केसीलाई खस आर्यको पहिलो नम्बरमा राखेको छ ।
अर्का सहमहामन्त्री भीष्मराज आङदेम्बेको नाम आदिवासी जनजाति कोटाको पहिलो नम्वरमा छ । केन्द्रीय सदस्य बलबहादुर केसीकी श्रीमति रिना उप्रेतीलाई पनि सूचीमा समेटिएको छ । कांग्रेसले केन्द्रीय सदस्यहरू सुशीला ढकाल,रूक्मणी कोइराला र गोमाकुमारी भट्टराईलाई महिला कोटामा राखेको छ । उसले ४० वर्ष तलकालाई पनि समेटेको छ।
माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसहित मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीले समानुपातिक कोटाबाट सांसद र मन्त्री बनेकालाई नदोहोर्याउने नीति लिँदा नयाँले अवसर पाएका छन् । तर उसले खस आर्य कोटाको एक नम्बरमा राखेका प्रमेश हमाल भने पार्टीको पूर्वउपाध्यक्ष भैसक्नुभएका नेता हो ।
जनजाति कोटाबाट प्राथमिकता दिइएका परशुराम तामाङ पनि पार्टी नेता हुनुहुन्छ । पूर्वविधार्थी नेता पञ्चा सिंह र अभिमन्यु यादवसहित नेतृ दिलु पन्त तथा मित्र परियार, मंगलसिंह प्रजा, कमला नकर्मी पनि समानुपातिकको बन्दसूचीमा अटाएका छन् ।मधेश केन्द्रीत दलले भने पुरानै अनुहारलाई दोहोर्याएका छन्।
एकतामा आएका नेताहरूलाई पनि उम्मेदवार बनाउने भने पनि निर्वाचन आयोगमा जसपाले पार्टी उपाध्यक्ष भैसकेका पूर्वमन्त्री रकम चेम्जोङसहित निर्मला यादव र लिला सिटौला लगायतको नाम बन्द सूचीमा राखेको छ । जसपा नेपाल र लोसपाबीच एकीकरणको सहमति भए पनि लोसपाले छुट्टै सूची बुझाएको छ । लोसपाले धेरै अवसर पाएकी निर्जला राउत तथा पुराना नेता सिद्धि यादवलाई बन्द सूचीमा पारेको छ ।
विगतमा समानुपातिक सांसदको कोटो करोडौंमा बेचेको र बिचौलियालाई समेत सांसद बनाएको भनेर आलोचना खेपेका कांग्रेस, एमाले लगायतका दलले यसपटक पनि युवापुस्तालाई भन्दा नेताका छोराछोरी र श्रीमतिदेखि आफ्नै पहुँच वरिपरिकालाई काखी च्यापेको देखिन्छ ।