.png&w=1000&height=550)
धनुषा । माथिल्लो कर्णालीका हिमाली भेगमा चिसोका कारण कष्टकर बनेको छ ।
हिउँद याममा अत्याधिक चिसोका कारण विकट कर्णालीका बासिन्दा मंसिरदेखि फागुनसम्म तराई मधेशमा ओर्लिने गर्छन् । मधेश झर्नुको मुख्य कारण जाडो छल्नु र जडिबुटी बेचेर अर्थोपार्जन गर्नु नै हो । तराई मधेशमा शीतलहर हुँदाहुँदै पनि हिमाली क्षेत्र भन्दा न्यानो रहन्छ, त्यसैले बसोबास र व्यापार दुबैका लागि हिमाली भेगका बासिन्दाका लागि उपयोगी मानिन्छ ।
उहाँ हुनुहुन्छ ४५ वर्षीय सिंहराज नेपाली । कर्णाली प्रदेशको जुम्ला सिजा गाँउपालिका वडा नम्बर ६ को स्थायी बासिन्दा । सिंहराज नेपालीको अहिले मधेश प्रदेशको राजधानी जनकपुरधाममा हुनुहुन्छ । जनकपुर बजारमा मात्र नभई उहाँ जडिबुटी बेच्न ग्रामीण क्षेत्रमा पनि पुग्नुहुन्छ ।
सिंहराजजस्तै जुम्ला घर भएका १२ जनाको समूह जनकपुरधामको प्राचीन राम मन्दिरलाई अहिले आफ्नो आश्रय स्थल बनाएको छ । जुम्लालगायतका स्थानमा सजिलै पाइने टिमुर, जिम्बु, शिलाजीत, हिंग, जेठी मधु, माझी फल, सुकेको लाली गुराँसलगायत संकलन गरी जडिबुटीको रूपमा उनीहरूले बिक्री-वितरण गर्दै आइरहेका छन् ।
यातायात, खानेपानी र दाउराको सुविधाले पनि हिउँदमा मधेशको बसाइ उनीहरूका लागि सहज बन्ने गरेको छ । हिउँदमा विगत आठ वर्षदेखि मधेश झरी उनीहरू जनकपुरमा मात्र नभइ महोत्तरी, सिरहा, सप्तरीलगायतका सहर र गाउँ-गाउँ पुगी जडिबुटी बेच्दै आएका छन् ।
तराई मधेशमा पनि शीतलहरसँगै चिसो बढ्छ तर जुम्लाको तुलनामा कम असर हुन्छ । जुम्लामा बिहानको समयमा सडकमा सवारीसाधन चल्न समस्या हुने, कुलो खोलाको मात्र नभइ धाराको खानेपानी पनि जम्ने, खेतीपाती गर्न समस्या हुने, नुहाउन, लुगा धुन लगायत दैनिकीमा निकै कठिनाइ उत्पन्न भई चिसोले निकै सकस हुन्छ ।
मंसिरको सुरूमै मधेश झर्ने र मौसम अनुकूल भएपछि मात्र खेतीपाती लगाउने बेला फागुनको अन्त तिर घर फर्किने गर्छन् । हिउँ परेर बढ्ने अत्याधिक चिसोले पानी जम्ने गरेको हुनाले सिमेन्ट, गिट्टी, बालुवाको काम गर्ने समस्याले विकासे कामका साथै खेतीपाती समेत प्रभावित हुने गरेको छ । हिमपातले समस्या थपेपछि रोजगारी खोज्दै उनीहरू मधेश झरेका हुन् । मधेश आउनु उनीहरूको रहरभन्दा बढी बाध्यता हो ।
हिउँदमा जुम्लाको अधिकमत तापक्रम १३ र न्यूनतम तापक्रम माइनस चार डिग्री सेल्सियस झर्ने गर्छ । जुम्ला, हुमला, कालिकोट , मुगु, डोल्पालगायत कर्णाली प्रदेशमा जाडोले बिहान आवतजावत गर्ने विशेषगरी विद्यार्थी, मजदुर, बालबालिका, गरिब असहाय र ज्येष्ठ नागरिक बढी प्रभावित हुँदै आएका छन् ।