
काठमाडौं । नगरपालिका भन्नेबित्तिकै हामी आधारभूत सहरी पूर्वाधरसँगै गुणस्तरीय शिक्षा, स्वास्थ्य, खानेपानी, सडकको पहुँचभएको सहरी बस्ती सम्झन्छौं ।
तर हाम्रा पहाडी क्षेत्रका नगरपालिकाको वास्तविकता भने फरक छ । अत्यावश्यक सेवासुविधा पनि नपुगेका गाउँहरूलाई नगरपालिकाभित्र समेटेको सरकारले स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले लागू भएको झन्डै दशक पुग्नलाग्दा पनि यस्ता नगरका बासिन्दाको आधारभूत जीवनस्तर सुधारमा कुनै काम गर्न सकेको छैन् । त्यसको एउटा प्रतिनिधि हो कालिकोटको रास्कोट नगरपालिका र त्यहाँका नागरिकको दुःख ।
दृष्यमा बिरामी बोक्नुभएकी महिला गौरा बमले भनेका कुरा तपाईँले कति बुझ्नुभयो ? उहाँ भन्दै हुनुहुन्थ्यो, तन्नेरी जति खाडीमा छन् गाउँमा एम्बुलेन्स छैन् । अप्ठेरो पर्दा यसैगरी हामीले बोकेर बिरामीलाई अस्पताल पुर्याउनुपर्छ । यो यथार्थ हो, कालिकोटको रास्कोट नगरपालिका-५ रानागाउँको ।
एक सयभन्दा बढी घरधुरी रहेको रानागाउँका हरेक घरबाट विदेश वा कालापहाड नगएको युवा छैन् । बाँकी रहेकाहरू पनि शिक्षा र रोजगारीको अवसरको खोजीमा राजधानी काठमाडौंसँगै देशका अन्य सहरमा छरिएका छन् । जब गाउँमा यस्ता आपद्-विपद् आइलाग्छ, महिलाहरू अघि नसरी सुखै छैन् ।
स्ट्रेचरमा बोकेर सुत्केरी गराउन अस्पताल लैजानुपर्दा होस् वा अरू बिरामी पर्दा होस्, महिलाहरूले काँध थाप्नै पर्छ । उनीहरूलाई गाउँमा भएका किशोरहरूले भरथेग गर्ने गरेका छन् । युवा नभएको गाउँमा मेलापर्व होस् वा रीतिभाँति र संस्कृति परम्परा, यी सबै कुरा धान्न अहिले गाउँमा बाँकी रहेका बुढापाका, महिला र केटाकेटीलाई मुस्किल हुँदै गएको छ ।
युवाविहीन गाउँको सबैभन्दा ठूलो भार महिला र किशोर र बुढापाकाकाको काँधमा परेको छ । नगरपालिकामा मेयर उपमेयर चढ्ने गाडी छ । उनीहरूलाई कहीँकतै जानुपरे २४सै घन्टा चालक हाजिर छन् । तर नगरपालिका भनिए पनि बजार क्षेत्रमा जसोतसो पिच बाटो, अरू सबै गाउँतिरका बाटा धुले र कच्ची छन् ।
बिरामीलाई खेतका गह्रा र धुलेबाटो हुँदै महिला र किशोरहरूले स्ट्रेचरमा बोकेर अस्पालतिर लाँदै गरेको दृष्य दोहोरिइरहने यथार्थले नगरबासी हुनुको अनुभुति उनीहरुसँग छैन्। त्यसैले उनीहरू एउटा एम्बुलेन्स पनि व्यवस्था गर्ने योजना बनाउन नसक्ने आफ्नो पालिकाको नेतृत्वप्रति यसरी आक्रोश पोख्छन् ।
गाउँमा सबै परिवारलाई आफ्नै उब्जनीले वर्षदिन खान पुग्दैन । गाउँमा नभएको रोजगारी रानागाउँका युवा बाहिरिँदा छोराछोरी पर्खिइहरेका बाआमाहरू मेलापातमा आफ्नो बह गीतको भाकामार्फत यसरी पोख्छन् । २०७८ सालको जनगणनाअनुसार रास्कोट नगरपालिकामा ५८ वटा बस्तीमा ३१९४ घरधुरी छन् ।
१७,४२५ जनसङ्ख्या रहेको रास्कोट साविकका स्युना फुकोट र सिपखाना गाविस मिलेर बनेको हो । कानुनले तोकेको जनसङ्ख्याको मापदण्ड त पूरा गरेको छ, तर पूर्वाधार, शिक्षा, रोजगारी र चेतनाजस्ता आधारभूत सहरी चरित्रहरूपालिकाको केन्द्रमै पनि भेटाउन मुस्किल छ ।