
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले युवाहरूले चाहेजस्तो देश निर्माण गर्ने दिशामा सरकार अग्रसर रहेको बताउनुभएको छ ।
तमु ल्होसारका अवसरमा आयोजित कार्यक्रमलाई काठमाडौंमा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले पछिल्ला दिनहरूमा देखिएका परिस्थितिबाट पाठ सिक्दै शान्तिपूर्ण, संविधानसम्मत र लोकतान्त्रिक बाटोमार्फत युवाहरूले चाहेजस्तो देश निर्माण गर्ने दिशामा अग्रसर भएको उल्लेख गर्नुभयो ।
उहाँले यसको मुख्य आधार स्वच्छ र निष्पक्ष निर्वाचन नै भएको बताउनु भयो । आगामी फागुन २१ गते हुन लागेको निर्वाचनको वातावरण देशभर बन्दै गएको उहाँकाे दाबी छ । राजनीतिक दलहरूका तर्फबाट उत्साहका साथ समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा पेस हुनुले पनि निर्वाचन सम्पन्न गर्ने दिशामा नयाँ कोशेढुंगा पार गरिएको उहाँले बताउनु भयो ।
प्रधानमन्त्री कार्कीले सरकारले शान्ति, सुरक्षा र सुव्यवस्था कायम गर्दै भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न कुनै कसर बाँकी नराख्ने बताउनु भयो ।