सुदूरपश्चिममा आज ‘पुसे पन्ध्र’ पर्व मनाइँदै

पुस १५, २०८२ |हरिश्चन्द्र बाग
सुदूरपश्चिममा आज ‘पुसे पन्ध्र’ पर्व मनाइँदै

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशमा आज परम्परागत पर्व पुसे पन्ध्र (पुस १५) विशेष उत्साहका साथ मनाइँदै छ । हरेक वर्ष पुस १५ गते सुदूरपश्चिमेली समाजले आफ्नै मौलिक पहिचान बोकेको यो पर्वलाई सांस्कृतिक गौरवका रूपमा मनाउने गर्छन् ।

ठुली रातका रूपमा पनि चिनिने पुसे पन्ध्रमा गाउँका सबै परिवार एक ठाउँमा जम्मा भएर रातभर देउडा खेल्ने, आगो ताप्दै जाग्राम बस्ने, दन्त्यकथा र आइनै बातै सुन्ने सुनाउने परम्परा रहेको छ । यो पर्व पारिवारिक मात्र नभई सामाजिक एकताको प्रतीकका रूपमा समेत लिइन्छ ।

पुसे पन्ध्रको अर्को विशेषता भनेको कन्दमूल संस्कृति हो । यस अवसरमा तरुल, पिँडालु, सखरखण्ड लगायतका कन्दमूल पकाएर खाने चलन छ, जसले परम्परागत खानपान र प्रकृतिसँगको सम्बन्धलाई झल्काउँछ । तर पछिल्ला वर्षहरूमा सुदूरपश्चिमका पहाडी भूभागबाट तराइ झरेका समुदायमा पुसे पन्ध्रको मौलिकता क्रमशः कमजोर हुँदै गएको प्रति संस्कृतिका जानकारहरूको चिन्ता छ ।

आधुनिक जीवनशैली, व्यस्तता र सांस्कृतिक हस्तान्तरणको अभावले यो पर्व केही ठाउँमा औपचारिकतामा सिमित हुन थालेको चिन्ता व्यक्त गरिएको छ । संस्कृतिविद्हरूका अनुसार पुसे पन्ध्र जस्ता चाडपर्वहरू सुदूरपश्चिमेली पहिचान, इतिहास र सामूहिक स्मृतिका जीवित दस्तावेज हुन् । त्यसैले यसको संरक्षण र पुस्तान्तरण आजको आवश्यकता हो ।


Image

हरिश्चन्द्र बाग

बाग कान्तिपुर टेलिभिजनका कञ्चनपुर संवाददाता हुन् ।