
काठमाडौं । पूर्वगृहमन्त्री रमेश लेखकले सरकारले आफूलाई पूर्वजानकारी समेत नदिइ स्थानहद तोकेको तथा राहदानी रोक्का गरेको भन्दै उक्त निर्णय विधिको शासन र संविधान तथा कानुनी व्यवस्था विपरित भएको टिप्पणी गर्नुभएको छ ।
सोमबार जाँचबुझ आयोगमा बयान दिएलगत्तै पत्रकार सम्मेलन गर्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले आयोगको सिफारिसमा सरकारले आफूमाथि काठमाडौं उपत्यकाबाहिर जान प्रतिबन्ध लगाएको र राहदानी रोक्का गरेको जानकारी सञ्चारमाध्यमबाट मात्र थाहा पाएको पनि उल्लेख गर्नुभयो ।
उहाँले प्रचलित कानुनको कुन व्यवस्थाअनुसार के प्रयोजनका लागि, के औचित्यले, कति अवधिका लागि किन स्थानहद र राहदानी रोक्का गरेको हो ? भन्नेबारे कुनै जानकारी प्राप्त नभएको पनि बताउनु भयो । उहाँले यसतर्फ सरकारलगायत सरोकारवाला निकायहरूको ध्यानाकर्षण गराउनु भयो ।
उहाँले आन्दोलनको क्रममा योजनाबद्ध घुसपैठ भएको कारण हाताहति भएको उल्लेख गर्दै प्रहरी दमनमा आफ्नो कुनै पनि संलग्नता नरहेको स्पष्ट पार्नुभयो ।