बर्दियामा चितुवाको आंतक, सुरक्षाका लागि सरकारलाई गुहार्दै स्थानीय

५ वर्षयता ११ जनाको गयाे ज्यान
पुस १४, २०८२ |कमल पन्थी
बर्दियामा चितुवाको आंतक, सुरक्षाका लागि सरकारलाई गुहार्दै स्थानीय

बर्दिया । बर्दियामा पछिल्लो पाँच वर्षमा चितुवाको आक्रमणमा परि ११ जनाको मृत्यु भएको छ । 

साउनयतामात्रै चितुवाको आक्रमणमा परि ६ जनाको ज्यान गयो भने ८ जनाभन्दा बढी घाइते भएका छन् । दिउँसै वन र बस्तीमा चितुवाले आक्रमण गर्न थालेपछि बर्दियाका स्थानीयमा अहिले थप त्रास बढेको छ । बुधवार दिउँसो बारबर्दिया नगरपालिका-१० बैदीकी ५० वर्षीया पार्वती डाँगीको चितुवाको आक्रमणमा परि मृत्यु भएको छ । 

घर नजिक रहेको फेनापति सामुदायिक वनमा घाँस काटी रहेको अवस्थामा चितुवाले घाँटीमा आक्रमण गर्दा उहाँको ज्यान गयो । पुस २ गते सोही पालिका-१० डफैयाका–३२ वर्षीय दिनेश थारू वनमा शौच गर्न गएको बेला चितुवाको आक्रमणमा परि मृत्यु भयो । 

गत मंसिर १२ गते सोही पालिका-११ काला वेलभारमा सामुदायिक वनमा घाँस काटी रहेको समय चितुवाको आक्रमणमा परेर एक जनाको ज्यान गयो । शनिवार राजापुर-१० मा चितुवाले आक्रमण गर्दा ५२ वर्षीय हेमराज बुढाथोकी घाइते भए । आइतबार चितुवा खेतमा आएपछि स्थानीयले घेरा हालेर नियन्त्रणमा लिए । त्रसित स्थानीयले सुरक्षाका लागि सरकारलाई गुहारेका छन् ।

पछिल्लो समय बर्दियामा चितुवाको आंतक बढेको छ । चितुवाले बच्चा जन्माउने मौसम भएकाले बर्दियाको आठै पालिकामा चितुवाको चहलपहल बढेको हो । जसका कारण स्थानीय त्रसित बनेका छन् । बर्दियामा ५ वर्षयता ११ जनाको ज्यान गएको छ । चालु आर्थिक वर्षमा चितुवाको आक्रमणमा ६ जनाको मृत्यु भएको छ । ८ जनाभन्दा धेरै मानिस चितुवाको आक्रमणमा घाइते भएका छन् । 

मान्छेमाथि आक्रमण गर्ने चितुवा पहिचान गरी नियन्त्रण लिने क्रम जारी रहे पनि मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा रणनीतिक पहल थाल्न नितान्त जरूरी देखिएको छ ।


Image

कमल पन्थी

पन्थी कान्तिपुर टीभीका बर्दिया संवाददाता हुन् ।