जनमोर्चा, नेमकिपासहितका पाँच राजनीतिक दलले बुझाए बन्दसूची, अन्य दल पनि तयारीमा

पुस १४, २०८२ |कान्तिपुर टीभी संवाददाता
जनमोर्चा, नेमकिपासहितका पाँच राजनीतिक दलले बुझाए बन्दसूची, अन्य दल पनि तयारीमा

काठमाडौं । फागुन २१ गते तोकिएको प्रतिनिधि सभा निर्वाचनका लागि अहिलेसम्म पाँच राजनीतिक दलले समानुपातिक बन्दसूची बुझाएका छन् ।

हालसम्म नेपाल मजदूर किसान पार्टी, नेपाल लोकतान्त्रिक पार्टी, राष्ट्रिय जनमोर्चा, जनप्रिय लोकतान्त्रिक पार्टी र नेपाली कम्युनिष्ट पार्टी मार्क्सवादी पुष्पलालले बन्द सूची बुझाइसकेको निर्वाचन आयोगले जनाएको छ । नेमकिपा र राष्ट्रिय जनमोर्चाले १ सय १० जनाकै सूची बुझाएका छन् भने नेपाल लोकतान्त्रिक पार्टीले १२, जनप्रिय लोकतान्त्रिक पार्टीले १२ र नेकपा मार्क्सवादी पुष्पलालले २० जनाको सूची बुझाएका हुन् । 

नेपाली कांग्रेस, एमाले, रास्वपालगायतका दलहरुले साेमबार बन्दसूची बुझाउने तयारी गरेका छन् । त्यसका लागि उनीहरूले आइतबारदेखि आन्तरिक छलफल तीव्र पारेका छन् । बन्दसूची पेस गर्ने समय साेमबारसम्मका लागि तोकिएको छ । तोकिएकै मितिमा बन्द सूची पेस गर्ने तयारी दलहरूको छ । 

नेपाली कांग्रेसले देशभरका प्रतिनिधि सभा क्षेत्र, जिल्ला र प्रदेश हुँदै सिफारिस आएका उम्मेदवारको नाम क्लस्टरअनुसार मिलाउन छलफल गरिरहेका छन् । उम्मेदवारको टुंगो लगाएर साेमबार आयोगमा बुझाउने तयारी रहेको प्रवक्ता प्रकाशशरण महतले बताउनु भयो । त्यस्तै नेकपा एमालेले तल्ला तहबाट आएका नामहरू क्लस्टरअनुसार मिलाएर बन्दसूची पारित गरेको छ ।

एमाले उपमहासचिव लेखराज भट्टका अनुसार साेमबार बसेको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारहरूको नाम पेस गर्नुभएको थियो । नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रीय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, लोसपा, जनमतलगायत पार्टीले समेत तयारीमा छन् । यता रास्वपा प्राइमेरी इलेक्सनमार्फत उम्मेदवार छनोटको प्रक्रियामा छ । यसैबीच निर्वाचन आयोगले निर्वाचन आचारस‌ंहिता पनि पारित गरेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.