
काठमाडौं । दुधकोशी जलाधार क्षेत्रका अधिकांश विद्यालय जलवायु परिवर्तन, हिमनदी पग्लने र हिमताल विस्फोटजन्य बाढी (जीएलओएफ) जस्ता जोखिममा रहेको एक अध्ययनले देखाएको छ ।
स्वीजरल्यान्डको युनिभर्सिटी अफ लुजान (युएनआईएल)ले दुधकोशी जलाधारका माथिल्लो र तल्लो तटीय क्षेत्रका विद्यालयमा गरेको अध्ययनमा पृथ्वीको तापक्रम वृद्धिका कारण जलवायुमा परिवर्तन हुँदा हिमताल विस्फोटजन्य बाढी र अतिवृष्टिको कारण उत्पन्न हुने बाढी तथा पहिरोको जोखिममा रहेको देखिएको हो ।
विद्यार्थी र शिक्षकको जलवायु परिर्वतन र हिमनदी विस्फोटनसम्बन्धी ज्ञान र बुझाइको स्तर, विद्यालय भएको स्थान, नदी तथा हिमतालदेखिको दूरी, खोला तथा नदीदेखि विद्यालयसम्मको दूरी, विपद् जोखिम बुझाइसम्बन्धी प्रशिक्षण पुस्तिका र विपद्को सम्भावित आकलन गरी गरिने कृत्रिम अभ्यासलगायत मापदण्डका आधारमा विद्यालयको जोखिम मूल्यांकन गरिएको हो ।
विद्यालयको भौतिक संरचनाको अवस्थिति, पाठ्यक्रम र विद्यार्थीको बुझाइ सिकाइ र ज्ञानसम्बन्धी विभिन्न १ सय ४२ प्रश्न गरिएको थियो । दुधकोशी जलाधार क्षेत्रका विद्यालयहरू मध्ये श्री दुधकोशी आधारभुत विद्यालय सबै भन्दा बढी जोखिममा देखिएको अध्ययनले देखाएको छ । हलेसी तुवाचुङ नगरपालिकास्थित यो विद्यालयमा दुधकोशी नदीको कटान, माथिल्लो क्षेत्रबाट हिमताल विस्फोटपछि आउने बाढीको उच्च जोखिम देखिएको हो ।
अध्ययनमा उच्च जोखिम देखिएपछि विद्यालयले युनिभर्सिटी अफ लुजानको सहयोगमा जलवायु परिवर्तन, हिमनदी पग्लने र हिमनदीय ताल विस्फोटजन्य बाढी (जीएलओएफ) जोखिमसम्बन्धी सचेतना कार्यक्रम गरेको छ । हलेसी तुवाचुङ नगरपालिका वडा नं। १ स्थित जयारामघाटमा अवस्थित विद्यालयमा गरिएको सचेतना कार्यक्रममा जलवायु परिर्वतन, बाढी पहिरो, हिमनदीजन्य बाढी, हिमताल विस्फोटबाट आउने बाढीको बारेमा जानकारी गराउनुको साथै हिमतालजन्य विस्फोटनबाट हुने जोखिमबाट बच्ने कृत्रिम अभ्यास पनि गराइएको थियो ।
कृत्रिम अभ्यासमा सम्भावित जोखिमको पूर्वसूचना प्राप्त भएपछि जोखिमको संकेत घन्टी र साइरन कसले बजाउने, विद्यार्थीको एसेम्बलीमा उपस्थितिको रूजु कसले गर्ने, सुरक्षित स्थानमा कसरी लैजानै, सुरक्षित स्थानमा पुगेपछिको विद्यार्थीको उपस्थिति जाँच गर्ने लगायतका विषयमा विद्यार्थीहरुलाई अभ्यास गराइएको थियो ।
विपद्को पूर्वसूचना प्राप्त भएपछि बाढी आइपुग्न लाग्ने समय (लिडटाइम)को आधारमा सुरक्षित स्थान पहिचान गरी सो स्थानमा लैजानेसम्मको अभ्यास (इभ्याकुएसन ड्रिल) गरिएको थियो । विद्यार्थीलाई विद्यालयबाट १ सय मिटरमाथि उचाइमा अवस्थित माँझी चौतारोमा इभ्याकुएसनको पहिलो सुरक्षित केन्द्रको रूपमा लगिएको थियो ।
त्यसैगरी दोस्राे तथा अन्तिम स्थानको रूपमा गोल भञ्ज्याङ फुटबल ग्राउन्ड पहिचान गरिएको थियो । कृत्रिम अभ्यास पछि विद्यार्थीले वातावरण, जलवायु परिर्वतन तथा विपद् जोखिम न्यूनीकरणका अभ्यासहरू सम्बन्धमा आफ्नो बुझाइलाई चित्रमा उतारेका थिए ।
सचेतना कार्यक्रमको उद्घाटन गर्दे नगरपालिका प्रमुख विमला राईले विद्यालयको विपद् जोखिम व्यवस्थापनमा नगरपालिका गम्भीर रहेको बताउनु भयो । उहाँले मानवजन्य क्रियाकलापले जलवायु परिवर्तनलाई बढवा दिएको उल्लेख गर्दै प्रकृति संरक्षणमा सबै जिम्मेवार बन्न आवश्यक रहेको बताउनु भयो । विद्यालयको संरचना ठूलो गराउनुपर्ने भएकाले उपयुक्त स्थानमा नभएको उल्लेख गर्दे समुदायले सुरक्षित जग्गा उपलब्ध गराएमा नगरपालिकाले विद्यालय स्तानान्तरण गर्ने उहाँले प्रतिबद्धता जनाउनु भयो ।
नेपालको संविधानले पनि स्थानीय सरकारलाई स्थानीय भूगोलअनुसार स्थानीय संस्कृति, जलवायु परिर्ववन, ऐतिहासिक र पुरातात्विक महत्व तथा प्राकृतिक सम्पदाको विषयमा केन्द्रित भई पाठ्यक्रम बनाउन अधिकार दिएको छ । त्यसैगरी विपद् व्यवस्थापनअन्तर्गत विपद्को पूर्वसूचनादेखि समग्र व्यवस्थापन सम्मको दायित्व पनि स्थानीय सरकारको हो । तर यो विषय स्थानीय सरकारको प्राथमिकतामा पर्न सकेको देखिँदैन ।
बहुप्रकोपिय विपद्बाट बच्न विद्यार्थी तथा शिक्षकलाई नियमित कृत्रिम अभ्यास गराइनुपर्छ । बहुप्रकोपिय जोखिमबाट विद्यालयमा पुग्ने क्षति रोक्न तीन तहकै सरकारले विद्यालयको जोखिम आकलन गरी स्तानान्तरण गर्ने, नयाँ संरचना जोखिमरहित स्थानमा बनाउने, स्थानीय पाठ्यक्रम विकास गरी अध्ययन गराउनुको साथै बहुप्रकोपिय जोखिमबाट बच्न विद्यार्थीलाई नियमित अभ्यास गराउनु आवश्यक छ ।