
काठमाडौं । नेपाली कांग्रेसले निर्वाचनअघि नै प्रतिनिधि सभा पुनःस्थापनाको फैसला आए त्यसलाई स्वीकार गर्ने बताएको छ ।
सोमबार निर्वाचनका लागि समानुपातिक बन्दसूचीको नाम बुझाउनका लागि सूचना दिन निर्वाचन आयोग पुग्नुभएका कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले सो कुरा बताउनुभएको हो । उहाँले कांग्रेसले पहिलो प्राथमिकतामा निर्वाचनलाई राखेको उल्लेख गर्दै त्यसअघि नै अदालतले प्रतिनिधि सभा पुनःस्थापनाको फैसला गरे त्यसलाई स्वागत र स्वीकार गरेर अघि बढ्ने स्पष्ट पार्नुभयो ।
उहाँले नयाँ राजनीतिक शक्तिहरूबीचको एकतालाई आफ्नो पार्टीले सकारात्मक रूपमा लिएको समेत बताउनु भयो । नेता विश्वकर्माले भन्नुभयो,‘निर्वाचन होस् भन्ने हाम्रो चाहना छ । सोहीअनुसार हामीले पहिला दल दर्ता पनि गर्यौं । आज बन्दसूची बुझाउन आएका छाैँ । केही समय पछि प्रत्यक्षको पनि उम्मेदवारी दर्ता हुन्छ । त्यो पनि हामी गर्छौँ । तर यो बीचमा कुनै न्यायिक फैसला आयो भने सर्वोच्च अदालत वा न्यायपालिकाबाट त्यस्तो फैसलाआयो भने हामी त्यसलाई पनि स्वागत र पालना गर्दछौँ ।’
नेता विश्वकर्माले पूर्वसांसद र मन्त्रीलाई पार्टीले समानुपातिक बन्दसूचीमा नराख्ने समेत बताउनु भयो ।