
काठमाडौं । उपराष्ट्रपति रामसहाय यादवले मधेसमा हाल शीतलहरका कारण दलित समुदाय पीडामा रहेको बताउनुभएको छ ।
राष्ट्रिय दलित आयोगले सोमबार आयोजना गरेको कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । प्राकृतिक विपद्हरूमा दलित समुदाय सबैभन्दा बढी जोखिममा रहने गरेको उहाँको भनाइ छ । यसमा आयोग अभिभावकको भुमिकामा देखिनुपर्नेमा उहाँले जोड दिनुभयो ।
आयोगले आफैँले सहयोग गर्नसक्ने अवस्थामा सहयोग गर्ने र गर्न नसक्ने अवस्थामा राज्यको ध्यानाकर्षण गराउनुपर्ने उहाँले बताउनु भयो । सरकारको ध्यान पुग्न नसकेको स्थानहरूमा आयोगले तत्कालै सरकारको ध्यानाकर्षण गराउनुपर्ने उहाँको भनाइ छ ।
उहाँले तराई मधेसका दलितहरू अझैं शिक्षा, स्वास्थ्य, राजनीतिक पहुँचको रेखाभन्दा बाहिर रहेको उल्लेख गर्नुभयो । उनीहरूलाई मूलधारमा ल्याउन आयोगले सक्रियता देखाउन जरूरी रहेको उहाँको भनाइ छ । स्वास्थ्य बीमा लगायतका कार्यक्रममा आर्थिक अभाव र जनचेतनाको कमीले धेरै जसो दलित समुदायले लाभ लिन नसकेको पनि उहाँले बताउनु भयो ।
आयोगले यसको लागि जागरूकता अभियानलाई संस्थागत रूपमा अघि बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले आयोगलाई दलितलक्षित सीपमुलक तथा रोजगारीमुलक कार्यक्रमहरू विपन्न क्षेत्र, बस्तीमा सञ्चालन गर्न सुझाव दिनुभयो । उहाँले समाजमा अझैंपनि विभिन्न कुऋति, विसंगति र भेदभावका अवशेषहरू रहेकोले त्यसलाई हटाउने चुनौतीहरू रहेको बताउनु भयो ।
दलित बीचमा पनि विभिन्न विभेद र छुवाछुतको अवस्था रहेको उहाँको भनाइ छ । यसलाई हटाउन आयोगले अग्रसरता देखाउनुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले आयोगले तयार पारेको रणनीतिक योजना २०८२/८७ तथा आयोगको उजुरी व्यवस्थापन प्रणालीलाई कार्यन्वयन गर्न पनि आग्रह गर्नुभयो ।