सुनको मूल्य प्रतितोला २ लाख ७० हजार, जटिल भूराजनीतिका कारण मूल्य अझै बढ्ने प्रक्षेपण

आइतबारको तुलनामा ६ सय रूपैयाँले घट्यो
पुस १४, २०८२ |सुमन पन्थ
सुनको मूल्य प्रतितोला २ लाख ७० हजार, जटिल भूराजनीतिका कारण मूल्य अझै बढ्ने प्रक्षेपण

काठमाडौं । नेपाली बजारमा साेमबार सुनको मूल्य प्रति तोला २ लाख ७० हजार रूपैयाँमा कारोवार भएको छ । 

आइतबारको तुलनामा सुनको भाउ सोमबार ६ सय रूपैयाँले घटेको हो । विश्लेषकहरूले जटिल बनेको भूराजनीतिका कारण मूल्य अझै बढ्ने प्रक्षेपण गरेका छन् । यस्तो अवस्थामा हामीले सुन खरिद गर्ने कि बिक्री गर्ने ?

नेपाली बजारमा सुनको मूल्य आइतबार २ लाख ७० हजार ६ सय रूपैयाँ पुग्नुमा घरेलु नभइ अन्तराष्ट्रिय कारणहरू रहेका छन् । सोमबार ६ सय रूपैयाँले घटे पनि सुनको मूल्य बढ्ने आकलन बढ्ने प्रक्षेपण अर्थशास्त्रीहरूले गरेका छन् । सामान्यतया डलरको मूल्य बढी हुँदा सुनको पनि मूल्य बढी हुने गर्छ । 

साेमबारका दिनमा डलरको मूल्य १४३ रूपैयाँ ७७ पैसा पुगेको छ । रूस युक्रेन र मध्यपूर्वमा बढेको व्यापार तनाव र मन्दीको डरका बीच लगानीकर्ता सुरक्षित सम्पत्तिका रूपमा सुनमा आकर्षित भएका छन् । अमेरिकाको फेडरल रिजर्भ बैंकले निरन्तर व्याजदर घटाएको र अन्य बैंकहरूले पनि सुनमा लगानी गरेका कारण अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ । 

अर्थशास्त्रीहरूले अमेरिकी डलरको मूल्य कम नहुँदासम्म मूल्य निरन्तर बढिरहने आकलन गरेका छन् । ब्याजदरमा अमेरिकी बैंकहरूले लिने रणनीतिले मूल्यमा असर पर्नेसक्ने छ । मूल्य बढिरहँदा नेपाली बजारमा भने सुन किन्नेभन्दा बिक्री गर्नेहरू बढेका छन् । आउने माघ फागुनमा विवाहका लगन भएका केहीले खरिद गरे पनि धेरै जसो बिक्रीकै लगानी आएको व्यवसायीहरूको भनाइ छ । अहिले वाणिज्य बैंकहरूमा १ सय ३० केजी सुन थन्किएको छ ।

सामान्य अवस्थामा नेपालमा दैनिक २० केजी सुनको खपत हुने गरेकोमा अहिले आधा पनि खपत भएको छैन् । चालू आर्थिक वर्षमा नेपाल सरकारले सुनमा २ प्रतिशत विलासिताको कर लगाएको छ ।


Image

सुमन पन्थ

पन्थ कान्तिपुर टेलिभिजनको अर्थ ब्युरोमा कार्यरत छन् ।