रौतहटमा रहेको ज्योति डिस्टलरीमा विस्फोट हुँदा एक जनाको मृत्यु, ६ जना घाइते

पुस १२, २०८२ |राजेश्वर पाण्डे
रौतहटमा रहेको ज्योति डिस्टलरीमा विस्फोट हुँदा एक जनाको मृत्यु, ६ जना घाइते

रौतहट । रौतहटको कटहरिया नगरपालिका–९ डुमरियामा रहेको ज्योति डिस्टलरी प्रालिमा आज बिहान विस्फोट हुँदा एक जना कामदारको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । 

आज बिहान करिब साढे ८ बजेतिर डिस्टलरीमा रहेको ब्वाइलर मेसिन अचानक पड्किएको हो । इलाका प्रहरी कार्यालय कटहरियाबाट प्रहरी नायब निरीक्षक धर्मेन्द्र पौडेलको कमाण्डमा प्रहरी टोलीले घटनास्थलमा पुगेर घाइतेहरूलाई उद्धार गरी उपचारका लागि वीरगञ्ज पठाएको छ ।

 विस्फोटका कारण डिस्टलरीमा रहेको भौतिक संरचना पूर्णरूपमा क्षति पुगेको प्रहरीले जनाएको छ। विस्फोटमा परि कटहरिया नगरपालिका–८ निवासी अन्दाजी ४५ वर्षका लक्ष्मण राय यादवको घटनास्थलमै मृत्यु भएको छ।

घटनामा घाइते हुनेहरुमा सोही डिस्टलरीमा काम गर्ने कटहरिया नगरपालिका–८ निवासी अन्दाजी ४५ वर्षका रहमोद आलम, अन्दाजी ३५ वर्षका प्रमजित यादव, अन्दाजी ५१ वर्षका जगदिश यादव, अन्दाजी ५५ वर्षका बिगन यादव, अन्दाजी ४० वर्षका कैलाश माली तथा गरुडा नगरपालिका–५ महमदपुर निवासी अन्दाजी ४० वर्षका मुकेश यादव रहनुभएको छ । 

घटनाको कारणबारे प्रारम्भिक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।


Image

राजेश्वर पाण्डे

पाण्डे कान्तिपुर टेलिभिजन रौतहट संवाददाता हुन् ।