प्रधानमन्त्री कार्कीसँग प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै

निर्वाचनको वातावरण बनाउनेबारे छलफल केन्द्रित हुने
पुस १२, २०८२ |कान्तिपुर टीभी संवाददाता
प्रधानमन्त्री कार्कीसँग प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र विघटित प्रतिनिधि सभाका तीन ठूला राजनीतिक दलका शीर्ष नेताबीच भेटवार्ता हुँदैछ ।

प्रधानमन्त्री कार्की र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालबीच अपराह्न ३ बजे बालुवाटारमा भेटवार्ता हुन लागेको हो । सरकारले चुनावको वातावरण निर्माण गर्न भन्दै दलका नेताहरूसँग निरन्तर संवाद गरिरहेको छ । 

शुक्रबार सरकारका प्रवक्ता जगदीश खरेलले तीनै दलका शीर्ष नेतालाई निवासमै पुगेर भेटवार्ताका लागि आमन्त्रण गर्नु भएको थियो । यसअघि राष्ट्रपति रामचन्द्र पौडेलको अग्रसरतामा तीन दलका शीर्ष नेता र प्रधानमन्त्रीबीच गत मंगलबार शीतल निवासमा भेटवार्ता भएको थियो । 

प्रधानमन्त्री कार्कीकै अग्रसरतामा भने तीन नेताबीच पहिलो पटक भेटवार्ता हुन लागेको हो । तीन शीर्ष नेताबीच प्रधानमन्त्रीको एक्लाएक्लै भेट भने भएको छैन । आजको भेट पनि फागुन २१ मा निर्वाचनको वातावरण बनाउनेमा केन्द्रित हुने सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधि मन्त्री जगदीश खरेलले जानकारी दिनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.