
सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका-४ बीपी नगरकी ३२ वर्षीया सुशीला घिसिङ बम्जनको हत्याका आरोपीलाई अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
मृतक सुशीलाका विदेशमा रहेका श्रीमानको भूमिकासमेत शङ्कास्पद देखिएको माइती पक्षको दाबीका आधारमा त्यस कोणबाट समेत अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । हत्या आरोपीमा सुशीलाका ससुरा दुर्गामानविरूद्ध पनि पक्राउ पुर्जी जारी भइसकेको र हाल उनको आफ्नो निगरानीमा उपचार भइरहेको प्रहरीको भनाइ छ ।
नियोजित हत्याको आरोपमा प्रहरीले सुशीलाकी नन्द ३५ वर्षीया मीना र सासु ६० वर्षीया मायारानी बम्जनलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । बुहारीलाई बचाउन गएको भनिएका ससुरा ६५ वर्षीय दुर्गामान केही जलेका छन् । प्रहरीलाई नन्द मीनाले दिएको बयानमा आफूले पेट्रोल छर्केर भाउजुलाई आगो लगाइ ढोका बन्द गरेको र यस काममा आमा मायारानीले साथ दिएको बयान प्रहरीसमक्ष दिएकी छन् ।
रोजगारीका लागि सुशीलाका श्रीमान दुई वर्षदेखि कोरियामा छन् । सुशीलाका बाबु प्रेमबहादुर घिसिङले नन्द, सासु र ससुरा मिलेर छोरीको हत्या गरेको किटानी जाहेरी दिएका छन् । सिलबन्दी गरिएको घर सामान निकाल्ने भन्दै खोलिएपछि स्थानीयहरू आक्रोसित बनेपछि बिहिबार तोडफोड गरिएको र आगजनीको प्रयास गरिएपछि प्रहरीले अश्रु ग्यास प्रहार गर्दा समेत भीड नियन्त्रण नभएपछि रातभर कर्फ्यू लगाउनुपरेको थियो ।