
कर्णाली । कर्णाली प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य फोक्सुण्डो तालको पदमार्ग फोहोर व्यवस्थापन अभावका कारण संकटमा परेपछि पर्यटक गाइड सुवर्णकुमार डाँगीको अगुवाइमा सरसफाइ थालिएको छ ।
डाँगीको अगुवाइमा सञ्चालन गरिएको साप्ताहिक सरसफाइ अभियानअन्तर्गत हालसम्म करिब पाँस सय किलो फोहोर संकलन गरिएको छ। संकलित फोहोर खच्चडमार्फत शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज कार्यालय रहेको सुलिगाढसम्म ढुवानी गरिएको उहाँले जानकारी दिनुभयो। उहाँका अनुसार फोक्सुण्डो ताल बस्ती, साइजेल, रेची बस्ती तथा पर्यटन पदमार्ग आसपास संकलन गरिएको थप पाँच सय किलो किलो फोहोर सुलिगाढ पुर्याउने तयारी भइरहेको छ।
तर यो अभियानमा राष्ट्रिय निकुञ्ज कार्यालय, मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति, मध्यवर्ती उपभोक्ता समितिहरूलगायतका सरोकारवालाको संस्थागत सहभागिता भने न्यून देखिएको छ। सरोकारवालाहरूले निकुञ्ज कार्यालय र उससँग साझेदारीमा काम गरिरहेका विश्ववन्यजन्तु कोष नेपाल तालिम, गोष्ठीलगायतका काममा बर्षेनि धेरै रकम खर्च गरे पनि फोहोर व्यवस्थापनमा आँखा चिम्लिएको भन्दै आलोचना गरेका छन् ।
जेठमा यार्चागुम्बा सङ्कलन सुरू हुनेबित्तिकै प्रवेश शुल्क असुलीमा तछाडमछाड गर्ने स्थानीय सरकारले समेत पर्यटकीय पदमार्ग र ताल क्षेत्रको फोहोर व्यवस्थापनमा सक्रियता नेदखाएको आरोप स्थानीयले लगाएका छन् ।