अन्तरिम सरकारले सुशासन र निर्वाचनलाई नै अर्जुनदृष्टि बनाएको प्रधानमन्त्री सुशीला कार्कीको प्रष्टोक्ति

चुनाव सार्ने वा रोक्नेजस्ता हल्ला पूर्णतः निराधार र भ्रमपूर्ण रहेको भनाइ
पुस ५, २०८२ |कान्तिपुर टीभी संवाददाता
अन्तरिम सरकारले सुशासन र निर्वाचनलाई नै अर्जुनदृष्टि बनाएको प्रधानमन्त्री सुशीला कार्कीको प्रष्टोक्ति

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले जेन-जी आन्दोलनको भावनाअनुसार अन्तरिम सरकारले सुशासन र निर्वाचनलाई नै अर्जुनदृष्टि बनाएको प्रष्ट पार्नुभएको छ। 

तोकिएकै समयमा निष्पक्ष र भयरहीत वातावरणमा निर्वाचन गराउन सरकार दृढ रहेको उहाँले उल्लेख गर्नुभएको छ। आफ्नो नेतृत्वमा सरकार गठन भएको सय दिन पुगेको अवसरमा सन्देश प्रवाह गर्दै प्रधानमन्त्री कार्कीले चुनाव सार्ने वा रोक्नेजस्ता हल्ला पूर्णतः निराधार र भ्रमपूर्ण रहेको बताउनुभएको छ। 

उहाँले आगामी फागुन २१ को निर्वाचनलाई परिवर्तनको ढोका उघार्ने राष्ट्रिय अनुष्ठानका रूपमा सम्पन्न गर्न आह्वान गर्नुभएको छ। आगामी निर्वाचनले नेपालको राजनीतिमा नयाँ, स्वच्छ र सुनौलो अध्यायको सुरूवात गर्ने प्रधानमन्त्रीको भनाइ छ।निर्वाचनका लागि सुरक्षाको सवालमा सरकारले कुनै कसर बाँकी नराखेको दाबी गर्दै प्रधानमन्त्री कार्कीले एकीकृत निर्वाचन सुरक्षा योजना स्वीकृत भइसकेको र नेपाली सेनाको परिचालन सुनिश्चित गरिएको जानकारी दिनुभएको छ। 

जेन-जी आन्दोलनका क्रममा लुटिएका १ हजार ३ सय ४२ थानमध्ये अधिकांश हतियार बरामद गरिसकिएको र अन्य ३२ थान हतियार पनि प्रहरीले नियन्त्रणमा लिएको उहाँको भनाइ छ। प्रधानमन्त्री कार्कीका अनुसार क्षतिग्रस्त भएका ४ सय ६५ प्रहरी कार्यालयहरूलाई पुनः सञ्चालनमा ल्याइएको छ भने निर्वाचन आयोगलाई आवश्यक ६ अर्ब ७३ करोड रुपैयाँ बजेट सुनिश्चित गरिएको छ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.