
महोत्तरी । महोत्तरीसहित मधेशका विभिन्न जिल्लामा बाक्लो हुस्सु, चिसो हावा र घट्दो तापक्रमका कारण जनजीवन कष्टकर बनेको छ ।
चिसोले सबैभन्दा बढी असर बालबालिका र ज्येष्ठ नागरिकमा परेको छ । बिहानदेखि बेलुकासम्म बाक्लो हुस्सु लाग्ने, मौसम धुम्मिने र शीतलहर चल्ने क्रम जारी छ । तापक्रम लगातार घट्दै जाँदा सर्वसाधारणको दैनिकी प्रभावित भएको छ। शीतलहरसँगै चिसो बढेपछि बालबालिका, ज्येष्ठ नगरिक, बिरामी, सुत्केरी तथा गर्भवती महिला बढी प्रभावित भएका छन् ।
चिसो छल्न स्थानीय पराल, भुस, दाउरा र गुइँठा बालेर आगो ताप्दै जाडो छल्न कोसिस गरिरहेका छन् । हरेक वर्ष शीतलहरका कारण गरीब तथा विपन्न समुदायका मानिसले ज्यानै गुमाउँदै आए पनि सम्बन्धित निकायले पर्याप्त ध्यान नदिएको स्थानीयको दुखेसो छ । तर स्थानीय सरकार र जिल्ला विपद् व्यवस्थापन समितिले चिसोबाट स्थानीयलाई जोगाउन तयारी थालिसकिएको दाबी गर्छन् ।
चिसो बढेसँगै स्वास्थ्य संस्थाहरूमा बिरामीको चापसमेत बढ्न थालेको छ। रूघाखोकी, ज्वरो तथा श्वासप्रश्वाससम्बन्धी समस्या लिएर अस्पताल आउने बिरामी बढेको स्वास्थ्यकर्मीहरू बताउँछन् ।