रवि लामिछाने थुनामुक्त

पुस ४, २०८२ |कान्तिपुर टीभी संवाददाता
रवि लामिछाने थुनामुक्त

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी-रास्वपाका सभापति रवि लामिछाने जिल्ला अदालत रूपन्देहीमा उपस्थित भएर थुनामुक्त हुनुभएकाे छ ।

काठमाडौंबाट शनिबार जिल्ला अदालत रूपन्देहीमा उपस्थित भएर लामिछानेले धरौंटी वापतको एक करोड र बिगो वापतको २ करोड ७४ लाख ८४ हजार बैंक जमानत बुझाएर रिहा हुनुभएको हो । काठमाडौंबाट चितवन हुँदै शुक्रबार साँझ रूपन्देही पुग्नुभएका लामिछाने जिल्ला अदालत रूपन्देहीमा उपस्थित भएर थुनामुक्त हुनुभयाे । तुलसीपुर उच्च अदालतको आदेशमा रिहा भएपछि आवश्यक कागजी प्रक्रिया पूरा गर्न शुक्रबार साँझ जिल्ला अदालतमा उपस्थित हुनुभएकाे थियाे । 

प्रतिकूल मौसमका कारण काठमाडौंबाट भैरहवास्थित गौतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्न नपाएपछि चितवनको भरतपुर विमानस्थल भएर सडकमार्गबाट लामिछाने रूपन्देही पुग्नुभएकाे थियाे । जिल्ला अदालतका सूचना अधिकारी पदम अर्यालले कानुन व्यवसायीको रोहबरमा सनाखतका लागि पहिल्यै कागजात तयारी अवस्थामा राखेका कारण छिट्टै काम सकिएको जनाउनुभयाे । जिल्ला अदालतले नै पत्राचार गरेर बोलाएका कारण कार्यालय समय बन्द भए पनि कुरेरै कागजी प्रक्रिया पूरा गरिएको उहाँले बताउनुभयो ।

लामिछानेले आफू कार्यरत रहेको संस्थामा सुप्रिम सहकारीबाट रकम प्रवाह भएको बिगोमध्ये दामासाहीले हुने बिगो बैंक ग्यारेन्टी राखी मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ७१ अनुसार बैंक ग्यारेन्टी लिई मुद्दाको पूर्पक्ष गरी पाउँ भनी माग गर्नुभएको थियो । लामिछानेको स्वागतका लागि अदालतबाहिर समर्थकको भीड लागेको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.