दैजी-छेला औद्योगिक क्षेत्र वर्षाैँदेखि अलपत्र, वन र मुआब्जा विवादले भविष्य अनिश्चित

मंसिर २९, २०८२ |हरिश्चन्द्र बाग
दैजी-छेला औद्योगिक क्षेत्र वर्षाैँदेखि अलपत्र, वन र मुआब्जा विवादले भविष्य अनिश्चित

कञ्चनपुर । कञ्चनपुरको वेदकोटमा दैजी-छेला औद्योगिक क्षेत्र निर्माण गर्न सरकारले २०७२ सालमै झन्डै नौ सय विघालाई चार किल्ला तोके पनि आयोजनाले गति लिन सकेको छैन ।

दुईवटा सामुदायिक वनको जमिनमा औद्योगिक क्षेत्र बनाउन २०७३ माघ १४ गते फेरि चार किल्ला संशोधन भयो । २०७७ फागुन १० गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दैजी-छेला औद्योगिक क्षेत्रको शिलान्याससमेत गर्नुभयो । तर पाँच वर्ष बितिसक्दा पनि बाँकी कुनै पनि काम अघि बढ्न नसकेको हो ।

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले तयार पारेको पहिलो डीपीआरमा २५ हजार ९ सय ७८ रूख रहेको उल्लेख भए पनि डिभिजन वन कार्यालय कञ्चनपुरले पछिल्लो तथ्यांकअनुसार ४३ हजारभन्दा बढी रूखको लगत संकलन भएको छ । 

रूखको फरक तथ्यांक, वन क्षेत्रको व्यवस्थापन र मुआब्जा प्रक्रियामा भइरहेको ढिलाइले आयोजना अघि बढ्न नसकेको हो । जग्गा हस्तान्तरण, रूख कटान स्वीकृति, वातावरणीय प्रभाव मूल्याङ्कमा देखिएको ढिलासुस्तीले आयोजनाको भविष्य अनिश्चित बन्दै गएको छ ।

प्रस्तावित औद्योगिक क्षेत्रको कूल लागत करिब ९ अर्ब रूपैयाँ अनुमान गरिएको छ । आयोजनाबाट प्रत्यक्ष र अप्रत्यक्ष गरी २२ हजार जनाले रोजगारी पाउने अपेक्षा गरिएको छ । समयमै सञ्चालन गर्न सके दैजी-छेला औद्योगिक क्षेत्र समग्र सुदूरपश्चिमको आर्थिक मेरूदण्ड बन्नसक्ने देखिन्छ ।


Image

हरिश्चन्द्र बाग

बाग कान्तिपुर टेलिभिजनका कञ्चनपुर संवाददाता हुन् ।